के कोरोना हाउगुजी हो ? यसबारे भ्रम र यथार्थ

असोज १३,काठमाडौं।
गत जेठ ३० गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारत एक कोरोना संक्रमित निको भएर घर फर्किए। कपिलवस्तु नगरपालिका–१२ बिठुवाका ती पुरूषलाई कोरोनासँगै मधुमेहलगायत विभिन्न समस्या देखिएपछि ३ दिन भेन्टिलेटर र त्यसपछि आइसीयूमा राखेर उपचार गरिएको थियो। कोरोना संक्रमितको स्वास्थ्य अवस्था अत्यन्तै जटिल भएमात्र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने र त्यस्ता विरामी निको हुने सम्भावना अत्यन्तै न्यून हुने बताइने गरेको छ। तर, नेपालमा यसरी आइसीयू तथा भेन्टिलेटरमा पुगेपछि पनि विरामीहरु निको भएर घर फर्किने गरेका छन्। बिठुवाका ती पुरुषले भने आइसीयू पुग्दा बाँच्ने आशा त्यागिसकेको र अहिले निको हुँदा दोस्रो जीवन पाएको महशुस भएको प्रतिक्रिया दिएका छन्। काठमाडौंका खेमप्रसाद अधिकारी १२ दिनपछि कोरोना संक्रमणमुक्त भए। संक्रमण हुँदा सुरुमा उनलाई निकै डर लागेको थियो। कतै मरिन्छ की भन्ने डरले उनलाई सताइरहन्थ्यो। तर, १२ दिनको आइसोलेसन बसाइपछि उनी कोरोना खासै केही होइन भन्ने निष्कर्षमा पुगे।

“१२ दिनको अनुभवले के भन्छ भने, मैले आजभन्दा अगाडि कोरोना भाइरसको बारेमा जति जे(जे सुनेको थिएँ, त्यो सब हाम्रै भ्रम रहेछ। कसैले भन्थे, ‘कोरोना लाग्ने बित्तिकै मरिन्छ।’ कसैले भन्थे, ‘मान्छे लट्ठाएर किड्नी लगायतका अङ्गहरु झिक्ने र बेच्ने गर्छन्।’ अनावश्यक भ्रमहरु सिर्जना गरेर समाजलाई हतोत्साहित पार्ने काम गरिएको रहेछ,” उनले भने। कोरोना भाइरसको संक्रमण हुँदा पनि अरु बेला मौसमी फ्लू हुँदाजस्तै साधारण रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, घाँटी दुख्ने जस्ता समस्या आउने उनले अनुभव सुनाए। माथिका दुई कोरोना संक्रमतिको अनुभवले समाजमा दुई खाले धारणा सिर्जना भइरहेको छ। एक– यो अत्यन्तै भयावह रोग हो, संक्रमण भए बाच्ने सम्भावना एकदमै कम हुन्छ। दुई– कोरोना भाइरस केही होइन, यो त स्वास्थ्य क्षेत्रका माफियाहरूले आफ्नो व्यापार गर्न चलाएको फण्डा हो। यिनै दुई धारणाले अहिले नेपाली समाजलाई पनि दिग्भ्रमित पारिरहेको छ। नेपालमा देखा परेका संक्रमणका केसहरु तथा न्यून मृत्युदरका कारण पछिल्लो समय ‘कोरोना केही होइन, यो भ्रम मात्र हो’ मान्नेहरुको संख्या भने उल्लेख्य रुपमा बढेको छ।
वास्तविकता के हो त ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा.शेरबहादुर पुन यस्तो अफवाह नफैलाउन आग्रह गर्छन्। उनको बुझाइमा नेपाली समाजमा आजकाल तीन खालको प्रवृत्ति देखिएको छ।
पहिलो– कोरोना संक्रमणका कारण मृत्युको मुखमा पुगेर फर्किएकाहरू र ज्यान गुमाएकाका आफन्तहरूले यसलाई गम्भीर रूपमा लिएका छन्।
दोस्रो– संक्रमणपछि निको भएर घर फर्किएकाहरूले यसलाई अरू सामान्य ज्वरोजस्तै ठानेर हलुका रुपमा लिएका छन्। तेस्रो– कुनै कुरा नबुझेर अरूले भनेको वा अनुमानको भरमा समाजमा अफवाह फैलाउँदैं हिँड्ने। कोरोनालाई विभिन्न दृष्टिकोणले बुझ्नुपर्ने डा। पुनको भनाइ छ। उनले कोरोना संक्रमणमा अहिलेसम्मको अवस्था हेर्दा कसलाई कस्तो खालको क्षति गर्छ भन्ने यकिन भइनसकेको बताए । “अहिलेसम्म अवस्था हेर्दा यो–यो उमेरलाई बढी असर गर्छ, यस्तो खालको व्यक्तिलाई बढी समस्यामा पार्छ भन्ने यकिनसाथ भन्न सकिने अवस्था आएको छैन। नयाँ भाइरस भएकाले सबै कुरा अहिले अध्ययनको क्रममा छ,” उनले भने, “९० वर्षका बृद्धबृद्धा पनि निको भएर फर्किएका छन्, कोही २० वर्षकाले पनि ज्यान गुमाएका छन्। त्यसैले यसलाई हाउगुजी मात्र ठान्नु भनेको समाजमा अफवाह फैलाउने काम मात्र हो।”अमेरिकामा रहेका डा। कल्याण सुवेदीले यसरी समाजमा अफवाह फैलिरहे झन् खतरा निम्तिने बताए। उनले सबैभन्दा पहिला पछिल्लो समय सिर्जना भइरहेका भ्रमबारे सचेतना फैलाउनुपर्नेमा जोड दिए। कोरोना भाइरसबारे समाजमा फैलिइरहेका भ्रमलाई डा। सुवेदीले यसरी प्रष्ट पारेका छन्।
भ्रम :कोरोना भाइरस सामान्य रूघाखोकीको भाइरस हो, आत्तिनु पर्दैन्, अनावश्यक उचालिएको हो, विदेशीको षड्यन्त्र हो।
वास्तविकता :
कोरोना भाइरस सामान्य फ्लु जस्तै रूघाखोकीको भाइरस हो। तर, अहिलेको भाइरस पहिलो पटक मानव शरीरमा पसेको हुँदा यो भाइरसविरूद्ध हाम्रो शरीरले स्वतः प्रतिरोधी क्षमता तयार पारेको छैन । अन्य धेरैखाले फ्लु र अन्य भाइरसविरुद्ध हाम्रो शरीरमा केही न केही मात्रामा प्रतिरोधी क्षमता उत्पादन भइसकेको छ। त्यसैले तिनले लामो समय दुःख दिन सक्दैनन्। यो नयाँ भाइरस भएकाले बृद्धबृद्धा र दीर्घरोगीले यस विरुद्ध लड्न नयाँ प्रतिरोधी क्षमता निर्माण गर्नुपर्छ, जुन सहज हुदैन र उनीहरूको थकित तथा सिथिल शरीरले थाम्न सक्दैन।
भ्रमः कोरोनाको उपचार छैन पनि भन्ने अनि उपचार सफल भयो पनि भन्ने ?
वास्तविकता :
प्राय कुनै पनि भाइरस मार्ने औषधि हुँदैन। कोरोना भाइरसलाई मार्ने औषधि पनि छैन। तर भाइरसले शरीरमा पार्ने असर कम गर्ने, भाइरसविरुद्ध लड्न शरीरलाई सहयोग गर्ने, भाइरस शरीरमा फैलन कम गर्ने औषधोपचार गर्न सकिन्छ। यसो गर्दा धेरैको ज्यान जोगिन्छ।
भ्रमः मास्क लगाएर, सेनिटाइजर प्रयोग गरेर, साबुन पानीले हात धोएर, ६ फिट दूरी कायम गर्दा कोरोना सर्दैन भने लकडाउन किन गरेको रु डाक्टर उपचार गर्न किन डराएको ?
वास्तविकता :
मास्क, सेनिटाइजर, साबुन पानी, ६ फिटको दुरी कायम राख्ने भनेको भाइरस एक जनाबाट अर्को जनामा सर्ने प्रक्रिया कम गर्ने उपाय हुन्। देशभर सबैले जुनसुकै बेला यसो गर्न सक्यो भने लकडाउन गर्नुपर्दैन। (देखापढी)