२८ दिने बालकको १२ घण्टापछि उद्धार, आमासहित दुई पक्राउ

स्काई न्यूज / असोज १९,सल्यान ।
जङ्गलमा बेवारिसे अवस्थामा बच्चा छोड्ने आमासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान जिल्लाको शारदा नगरपालिका –३ घोरुलाटेको जङ्गलमा बेवारिसे अवस्थामा २८ दिने बच्चा फेला परेको थियो । उक्त बच्चाको आमासहित दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो । पक्राउ पर्नेमा शारदा नगरपालिका–३ की २८ दिने बच्चा आमा ३५ वर्षीया शान्ति परियार र शारदा नगरपालिका–२ पानीखोलाको अन्दाजी ३८ वर्षको दान बहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए।

जङ्गलमा बच्चा फालेको १२ घण्टापछि २८ दिने बालकको उद्धार गरिनुका साथै बच्चा जङ्गलमा छोड्ने दुई जनालाई पक्राउ गरिएको उनले बताए। रोजगारीको शिलसिलामा भारतको उत्तराखण्डमा उनीहरु बीच अवैध यौन सम्पर्कबाट बच्चा जन्मिएको र घर पुग्दा बच्चा नलैजाने दुवै जनाको सल्लाह बमोजिम बाटोमै पर्ने जङ्गलमा छाडेको बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरुष विवाहित भएको र महिलाको सम्बन्ध विच्छेद भइसकेको प्रहरीले जनाएको छ ।

Translate »