सुर्खेतमा म्याद नाघेका सामग्री बरामद


स्काई न्यूज  /असोज २६, सुर्खेत ।
जिल्ला प्रशासन कार्यालयले पश्चिम सुर्खेतका विभिन्न बजार अनुगमनका क्रममा फेला परेका म्याद नाघेका सामाग्री बरामद गरि नष्ट गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको नेतृत्वमा गएको बजार अनुगमन टोलीले पञ्चपुरीका बाबियाचौर र सालकोट बजार अनुगमनका क्रममा वरामद भएका सामाग्री सोमबार नष्ट गरेको हो । बजार अनुगमन समितिले जिल्लाका विभिन्न स्थानीय तहमा गरेको बजार अनुगमन गर्दा म्याद नाघेका सामग्री बरामद गरि नष्ट गरेको सहायक प्रजिअ महतले जानकारी दिए । ‘हामीले पश्चिम सुर्खेतका स्थानीय तहबाट चाडपर्व लक्षित बजार अनुगमन अघि बढाएका छौं,’ उनले भने, ‘अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका सामग्री बरामद गरेर नष्ट गरेका छौं ।’

उनले बजार अनुगमनका क्रममा म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गर्ने गरेको बताए । उनका अनुसार चाडपर्वको बेला हुन सक्ने कालोबजारी रोक्नका लागि संयुक्त बजार अनुगमन समितिलाई समेत बजार अनुगमनका लागि परिचालन गरिएको छ । ‘अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित स्थानीय तहमा दर्ता हुन आग्रह गरिएको थियो भने मूल्यसूची समेत राख्न पहिले नै सुर्खेत उद्योग वाणिज्य मार्फत आग्रह गरिएको थियो,’ उनले भने, ‘अब बजार अनुगमनमा नियमपूर्व सञ्चालित नभएका पसल तथा व्यवसायीमाथि कारवाहीका लागि सिफारिस गरिने छ ।’

Translate »