नेपाली बजारमा लन्च हुँदै विद्युतीय गाडी निसान लिफ

असोज ३,काठमाडौं ।
नेपालका लागि निसान मोटर्सको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसानको सर्वाधिक प्रतीक्षित ईभी निशान लिफ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिएपछि सो गाडीको लन्च कार्यक्रम पूर्वनिर्धारित समयमा हुन सकेको थिएन । सरकारले विद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निसानको ‘लिफ’ गाडी २०२१ अप्रिलमा लन्च हुने भएको छ । निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो भने यो गाडी बजारमा ग्लोबल लिडर पनि बनिसकेको कम्पनीले जनाएको छ । निसान लिफ कम्पनीको विद्युतीय गाडीमा सबैभन्दा उन्नत कार हो ।

निसान लिफ संसारभर २,५०,००० भन्दा बढी बिक्री भइसकेको छ । पहिलो निसान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचर र उत्कृष्ट लुक भएको निसान लिफ विश्वव्यापी धेरै बिक्री हुने सवारीको रुपमा परिचित रहेको कम्पनीले दाबी गरेको छ । अधिक हर्षपावर र टर्कसहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचर छन् । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ ।

Translate »