सुर्खेतमा अधिकांस अटोरिक्सा नियम विपरित सञ्चालित

वीरेन्द्रनगरमा अटोरिक्सा चेकजाँचमा कडाई

स्काई न्यूज / कार्तिक ३, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्र चाडपर्वमा यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै तीन पाङ्ग्रे सवारी अटोरिक्साको जाँच तथा अनुगमन शुरु गरेको छ । चाडपर्वका समयमा हुने सडक दुर्घटना तथा यात्रुको सुविधालाई मध्यनजर गरी नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकारलगयात सरोकारवालाको समन्वयमा आइतबारदेखि अटोरिक्साको जाँच तथा अनुगमन शुरु गरिएको नगरपालिकाका उद्योग शाखाका अधिकृत ईन्द्रबहादुर थापाले जानकारी दिए । चाडपर्वमा एउटै सवारी साधन सघनरुपमा प्रयोग हुने तर उचित मर्मतसम्भारमा ध्यान नदिँदा दुर्घटना हुने देखिएकाले सार्वजनिक सवारी साधन अटोरिक्सा चालकलाई साधन निरन्तर जाँच र मर्मतका लागि निर्देशन दिन अनुगमन गरिएको बताए । दशै, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारीसाधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन यात्रु, चालक, सवारी धनी एवं आम नागरिकमा अपिलसमेत गरेको उनको भनाइ छ । उनका अनुसार नगरपालिकाले तत्काल सेवाग्राहीले गुनासो राख्नका लागि प्रहरीको १०० नम्बरसँगै ट्राफिक प्रहरी एवं नगरपालिकामा फोन गर्न समेत अनुरोध गरेको छ । वीरेन्द्रनगर नगरपालिका भित्र करिब एक हजारको हाराहारीमा अटोरिक्सा सञ्चालनमा रहेपनि ५ सय ८५ मात्र दर्ता भएका छन् ।


अनुगमनका क्रममा सवारी चालक अनुमति पत्र, अटोरिक्सा चालकसँग रुट पर्मिट, बिलबुक नवीकरण, जाँच पासलगायत कुनै कागजात नभेटिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत श्रीसमशेर रानाले बताए । उनले ६० वटा अटोरिक्साको चेक जाँचका क्रममा दुई वटा बाहेक बाँकी सबैसँग सवारी चालक अनुमति पत्र, अटोरिक्सा चालकसँग रुट पर्मिट, बिलबुक नवीकरण, जाँच पासलगायत कुनै कागजात नभेटिएको जनाए । जनचेतना फैलाउने नाममा वीरेन्द्रनगर नगरपालिकाकाले गरेको अनुगमन नौटंकी मात्र भएको उनको भनाइ थियो । ‘नगरपालिकासँगै यातायात कार्यालयका प्रतिनिधि, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयलगायतका सरोकारवालाको सहभागितामा गरिएको अनुगमनका बेला नियम विपरित सवारी सचाउनेलाई कारवाही गर्ने अधिकार भएपनि मुखदर्शक मात्र भईयो,’ उनले भने, ‘नगरपालिकाले योजना विना नै गरेको अटोरिक्सा अनुगमनका क्रममा सवारी चालक अनुमति पत्र, अटोरिक्सा चालकसँग रुट पर्मिट, बिलबुक नवीकरणलगायतका कागजात नभएकाहरुसँग ट्राफिक प्रहरीले कारवाहीका लागि नगदी रसीद समेत काट्न सकेन् ।’ उनले सचेतना फैलाउने नाममा नियम विपरित अटोरिक्सा चलाउनेलाई उन्मुक्ति दिनेहरुको अनुगमन गर्नु भनेको आफ्नै बेइज्जत गर्नु सरह भएको जिकिर गरे । उनका अनुसार नगरपालिकाले समेत नियम विपरित सञ्चालित अटोरिक्सालाई जरिवाना तथा कारवाही गर्ने अधिकार कानूनले दिएको छ । अहिले ट्राफिक प्रहरीले जरिवाना वापतको नगद रसिदको साटो विलबुक वा सवारी चालक अनमति पत्रलगायतका कागजात नियन्त्रणमा लिएपछि बैंकमा जम्मा गरेको नगदी रसिद देखाएपछि मात्र ती कागजात फिर्ता दिने चलन शुरु गरेको छ । अनुगमनमा यातायात कार्यालयले समेत जरिवाना रसिद नलिएका कारण चेक जाँच गरिएका सबै अटोरिक्सा चालकलाई आवश्यक कागजात बोकेर मात्र सवारी गुडाउन निर्देशन दिईएको थियो । यता अटोरिक्सा चालकहरुले कानूनी कुरा थाहापाएपनि पहिले देखि नै सरोकारवाला निकायले छुट दिईरहेकाले आफुहरु पुरानै चलन चल्तीमा अटो गुडाईरहेको बताउँछन् । ‘अटोरिक्सा सञ्चालनले नगरवासीलाई आवतजावतमा सहज भएपनि  सवारी चालक अनुमति पत्र, अटोरिक्सा चालकसँग रुट पर्मिट, बिलबुक नवीकरणलगायतका आवश्यक कागजात विना अटोरिक्सा चलाउनु गलत हो,’ राष्ट्रिय उपभोक्ता मञ्चका वीरेन्द्रनगर संयोजक भीमकुमारी भुसालले भनिन, ‘कुनै दुर्घटना, सवारीमा लुटपाट, पकेटमारी, चोरी जस्ता घटना घटेमा त्यस्ता नियम विपरित सवारी गुडाउने अटोरिक्सा चालकलाई कानूनी दायरामा ल्याउन कठिन हुन्छ ।’ उनले नियम विपरित सवारी साधन गुडाउने जुनसुकै यातायातका सवारी साधनलाई कानूनी दायरामा ल्याउनु पर्ने माग राखिन् । उनका अनुसार सम्बन्धित पक्षले कानून कार्यान्वयन गर्न नसक्दा सेवाग्राहीबाट ब्रहालुट गर्नेहरुले उन्मुक्ति पाईरहेका छन् । आवश्यक कागजपत्र नभएका सवारी साधन र चालकलाई कडाईका साथ कारबाही गर्दैै नियमपूर्वक यातायातका सवारी साधन सञ्चालन गरिनु पर्नेमा उपभोक्ताकर्मीहरुको माग छ । तर, सुर्खेतका विभिन्न सडकहरुमा गुड्ने अधिकांस तीन पाङ्ग्रे सवारी अटोरिक्सा नियम विपरित नै सञ्चालनमा आएका छन् । प्रदेश तथा स्थानीय सरकारले सार्वजनिक सवारी साधनलाई नियमन तथा नियन्त्रण गर्न नसक्दा सेवाग्राही मारमा परेका छन भने अर्को तर्फ कानूनी चुनौति समेत थपिँएको छ ।

Translate »