अछामको रामारोशनमा एकीकृत दलित नमुना बस्ती बन्ने

टेकराज भण्डारी / कात्तिक १६,अछाम ।
अछामको रामारोशन गाउँपालिका वडा नम्वर २ चिल्यात्त्रामा एकीकृत दलित नमूना बस्ती बन्ने भएको छ । ३ बर्ष पहिले पहिरोमा परि उच्च जोखिममा रहेका १५ वटा घरहरुलाई स्थानान्तरण गरी नयाँ दलित नमूना बस्ती निर्माण गर्न लागिएको हो । कौशिक निर्माण सेवा मंगलसेनले उक्त नमूना बस्ती निर्माण गर्ने ठेक्का लिएको छ । साथै १ बर्ष भित्र बस्ती निर्माण गरी सक्ने लक्ष्य रहेको छ । सुदुरपश्चिम प्रदेश सरकार र रामारोशन गाउँपालिकाको १ करोड ८३ लाखको लागतमा बस्ती बन्न लागेको हो । जस अन्तर्गत प्रदेश सरकार र गाउँपालिकाको ५०/५० प्रतिशत लगानी रहने गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँदले बताए। गाउँपालिकाको गौरबको योजना अन्तर्गत उक्त जोखिममा रहेको दलितहरुको चिल्यात्त्रा बस्तीलाई अर्को स्थानमा सारेर नयाँ नमुना बस्ती निर्माण गर्न लागिएको उनको भनाई छ । नमूना बस्तीको शिलान्यास पनि गरिएको छ ।


गाउँपालिका अध्यक्ष साउँदले शिलान्यास गर्दै पहिराले बस्ती नै उच्च जोखिममा परेपछि स्थानीयहरुलाई नमूना बस्तीमा राख्ने योजना अब सफल हुने विश्वास व्यक्त गरे । पालिकाका जनताहरुको जनजिविका र अन्य प्रवृत्ति हेरेर हरेक विकास निर्माणका काममा आफु लागि परेकाले सबै कामहरु पूरा गर्ने बताए । अध्यक्ष साउँदले बाढी पहिरोले अहिले गाउँपालिका हरेक विकास निर्माणका कामहरुमा पछि धककेलिएको बताउदै सबै कामहरु पुरानै अवस्थामा फर्काउनको लागि गाउँपालिका लागी परेको बताए। यो अप्ठ्यारो परिस्थितिमा साथ र सहयोग गरी दिन पनि उनले सबैलाई आग्रह गरे। यस्तै उक्त नमूना बस्तीलाई भावि दिनहरुमा पर्यटकहरुका लागी होमस्टे बनाउने लक्ष्य लिएको बताए । बाढी पहिराले तहसनहस बनाएका अन्य बस्तीहरुलाई पनि क्रमश : रुपमा निर्माण गर्दै अगाडी बढ्ने बताउदै आफुले केन्द्र र प्रदेश सरकारसँग पहल गरीरहेको कुरा उल्लेख गरे।

Translate »