थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि
कात्तिक १६, काठमाडौं ।
नेपालमा आइतवार थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ९६० जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा ३ हजार ६२० जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र २८३ जना संक्रमित आईसीयूमा उपचाररत छन् । हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३७ हजार ७६५ जना रहेका छन् । हालसम्म १४ लाख ५६ हजार ३६६ ओटा पीसीआर परीक्षण भइसकेको छ । विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ३६२ जना, भक्तपुर जिल्लामा ९६ जना र ललतिपुर जिल्लामा १६४ जना संक्रमित भेटिएका हुन् ।