जुम्लामा डिजिटल कर प्रणाली

कात्तिक १७,जुम्ला ।
जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर संकलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययीताका हिसाबले सहज होस् भनेर सम्पत्ति कर संकलनमा डिजिटल प्रणाली लागू गरिएको हो । पालिकाभरका ७ वटै वडामा यो प्रणाली लागू गरिएको उनले बताए ।


सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर संकलन गर्न चार क्षेत्र छुटयाइएको छ । व्यापारिक क्षेत्रमा ५ सय, आवासीय क्षेत्रमा ३ सय, कृषि क्षेत्रमा २ सय ५० र वन तथा बगर क्षेत्रमा प्रतिवर्गमिटर १ सय रुपैयाँ कर तोकिएको उनले जानकारी दिए । यो प्रणाली सात वटै वडामा लागू भएको छ । यहाँका स्थानीय यसअघि कर तिर्न गाउँपालिकामा धाउनुपर्ने बाध्यता थियो । अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनुपर्ने बाध्यता टरेको सूचना प्राविधिक अधिकृत रावतले बताए ।

Translate »