सुर्खेतमा ‘एफटीटीएच’ सेवाको माग बढ्दो

द्रुत गतिको इन्टरनेटप्रति उपभोक्ता आकर्षित

स्काई न्यूज /कार्तिक २०, सुर्खेत । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवाको माग सुर्खेतमा बढ्दै गईरहेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने भएकाले सुर्खेती उपभोक्ता माँझ यसको माग बढ्दै गईरहेको हो । सेलुलर मोबाइल फोनको लोकप्रियतासँगै ल्याण्डलाईन ग्राहकको संख्या घटिरहेका बेला पछिल्लो समय एफटीटीएच प्रविधिले पुनः उपभोक्तालाई ल्याण्डलाईन जडान गर्न तर्फ आकर्षित गरेको छ ।

नेपाल टेलिकम सुर्खेतका अनुसार गत वर्ष सुर्खेत जिल्लाभरी ल्याण्डलाईन ग्राहकको संख्या ५ हजार ६ सय रहेकोमा चालु आर्थिक वर्षको कार्तिक तेस्रो सातासम्म एफटीटीएच प्रविधि सञ्चालनमा आएसँगै ल्यान्डलाइन ग्राहकको संख्या ६ हजार पुगेको हो । टेलिकमले फाइबर टु दी होम (एफटीटीएच) सेवा सुर्खेत जिल्लाभरी विस्तार गरिरहेको छ । नेपाल टेलिकम सुर्खेतको तथ्यांक अनुसार टेलिकम एफटीटीएचको प्रयोगकर्ता सदरमुकाम वीरेन्द्रनगरमा मात्र ५ सय रहेका छन् ।

थप विस्तारको काम भईरहेकाले अब चालु आर्थिक वर्ष भित्र ६ हजार एफटीटीएच ग्राहक बनाउने लक्ष्य रहेको नेपाल टेलिकम सुर्खेत कार्यालय प्रमुख वरिष्ठ ईन्जिनियर नारायणप्रसाद कुसीले जानकारी दिए । उनले सस्तो मूल्यमा फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको टेलिकमले ग्राहकको सहजताको लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको बताए । उनका अनुसार त्यसै अनुरुप हाल नेपाल टेलिकमको वेवसाईज तथा एसएमएसबाटै एफटीटीएच सेवाको जानकारी लिन सकिने सुविधा उपलब्ध रहेको छ ।

‘कर्णाली प्रदेशको दैलेख जिल्लाभरी एफटीटीएच सेवा विस्तार भईसकेको छ,’ उनले भने, ‘छिट्टै सल्यानसँगै सल्लीबजार, सुर्खेतका छिन्चु, जहरे, मेहेलकुनालगयातका क्षेत्रमा एफटीटीएच सेवा पु¥याउँदै छौं ।’ उनले टेलिकम सुर्खेतसँगै कर्णाली प्रदेशका अन्य जिल्लामा समेत एफटीटीएच सेवा विस्तार अभियानमा जुटेको जानकारी दिए । उनका अनुसार एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट, आईपीटीवी र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ ।

पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्छन् । यस अघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आईएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिने छ । हाल प्रयोगमा रहेको ल्यान्डलाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न तरिकाले महशुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ ।

सेवा विस्तारमा तीव्रता
टेलिकमले आफ्नो सेवालाई अझै गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयासलाई तीव्रता दिएको सुर्खेत कार्यालय प्रमुख कुसी बताउँछन् । उनले कर्णालीमा टेलिकमको सेवा एवं सुविधालाई थप व्यवस्थित गर्दै सर्वसुलभ बनाउने कार्यलाई कोरोना महामारीलगायतका कारणले ढिलाई भईरहेको जनाए । उनका अनुसार टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयका लागि भौतिक संरचना अपुग भएकाले सुर्खेतमा राख्नुपर्ने कार्यालय नेपालगञ्जबाटै सञ्चालन गर्नु परिरहेको छ ।

टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयको कार्यालय स्थापना गर्न तत्काल प्रिफाइव घर निर्माणका लागि टेण्डर निकालेपनि मापदण्ड पुगेका निर्माणकर्ताको अभावमा हाल स्थिगित भएको उनले जानकारी दिए । उनका अनुसार प्रादेशिक निर्देशनालय कार्यालय निर्माणका लागि वीरेन्द्रनगर स्थित भेरी एफएम नजिकै जग्गा भएपनि आवश्यक प्रक्रियागत कारणले भवन निर्माणमा ढिलाई भईरहेको छ ।

साउनदेखि सुर्खेत कार्यालयले कर्णाली प्रदेशका १० वटै जिल्ला स्थित टेलिकमका कार्यालयसँग समन्वय तथा निर्देशनात्मक कार्य गर्दे आईरहेको छ । टेलिकमले कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवा विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको उनी बताउँछन् । उनले कर्णालीमा पर्याप्त सडक, बत्तीलगायत भौतिक पूर्वाधार अभावका बाबजुद टेलिकमले वैकल्पिक सोलार प्यानल जोडेर भएपनि मोवाईल नेटवर्क विस्तार अभियानलाई निरन्तरता दिईरहेको उनी बताए ।

यो अवधिमा तामाको तारबाट चल्ने परम्परागत स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रुपान्तरण गरिएको पनि उनले जनाए । उनका अनुसार अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चारको क्षेत्र विस्तारमा कार्यालय जुटेको छ ।

Translate »