माथिल्लो क्षेत्रमा हिमपात भएसँगै हुम्लामा चिसो बढ्यो

कात्तिक २१, हुम्ला ।
गत आइतबार रातिदेखि मौसममा फेरवदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटको तल्लो क्षेत्रमा असिना पानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको थियो । असिना पानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाममा चिसोको महशुस गर्न थालिएको छ भने यहाँको तापक्रम माइनसमा झरेको छ ।चिसौ मौसम सुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको यहाँका स्थानीय राजबहादुर भण्डारीले बताए । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेको स्थानीय भण्डारीले बताए ।

चिसोका समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडा खपत हुने गरेको छ । सिमकोटमा रहेका पसलमा बाक्लो कपडाको खोजी गर्नेको सङ्ख्या बढ्नुका साथै यहाँका स्थानीयले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको चाप बढ्दै गएको महसुस गरिएको यहाँ बासिन्दाले गरेका छन् । चिसोको समय सुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । एक भारी दाउराको मूल्य सदरमुकाममा रु एक हजारसम्म पर्ने गरेको छ । चिसो याम सुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

 

Translate »