कर्णालीका १० जिल्लाबाट अख्तियारमा ७२० उजुरी

स्काई न्यूज / कात्तिक २३,रुकुम ।
कर्णाली प्रदेशका १० जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ७२० उजुरी परेका छन् । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा आयोगको सुर्खेत कार्यालयमा उक्त संख्यामा उजुरी दर्ता भएका हुन् । यसमध्ये ९१ ओटा फछ्र्योट गरिएको छ भने ६२९ उजुरी छानबिनको क्रममा रहेको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । गत आर्थिक वर्ष २०७६/७७ मा आयोगमा कर्णालीका १० जिल्लाबाट ४६७ उजुरी परेका थिए । आयोगमा सबैभन्दा बढी उजुरी सुर्खेतबाट छन् । कार्यालयका अनुसार सुर्खेतबाट मात्र १४५ उजुरी परेका छन्, जसमध्ये २५ फछ्र्योट भएका छन् भने बाँकी १२५ छानबिनको क्रममा रहेको बताइएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये कम उजुरी रुकुम पश्चिममा छन् ।

रुकुम पश्चिमबाट हालसम्म ३७ ओटा उजुरी अख्तियारमा दर्ता भएका छन् । त्यस्तै डोल्पाबाट ३८, सल्यानबाट ३९, मुगुबाट ४२, हुम्लाबाट ५९, जुम्लाबाट ५५ उजुरी अख्तियारमा परेका छन् । यसैगरी जाजरकोटका ८२, कालिकोटका ९२, दैलेखका १३१ र सुर्खेतका १४५ रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको तथ्यांक छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबैभन्दा बढी स्थानीय तहका उजुरी अख्तियारमा परेका छन् । गत आर्थिक वर्षमा स्थानीय तह संघीय मामिला अन्तर्गत २९२ उजुरी परेका थिए भने संघीय मन्त्रालय अन्तर्गतका १६८ र प्रदेश सरकार अन्तर्गतका मन्त्रालयका १६६ उजुरी अख्तियारमा परेका छन् । पछिल्लो समय अख्तियारमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको तथ्यांक अनुसार सबैभन्दा बढी उजुरी वैशाख जेठ, असार र साउनमा पर्ने गरेका छन् । विशेषगरी आर्थिक वर्षको अन्त्यतिर विकास बजेट खर्च गर्ने र गुणस्तरहीन काम हुने भएकाले बढी उजुरी पर्ने गरेका हुन् ।

 

Translate »