निर्यात ठप्प हुँदा घरमै थन्कियो अलैँची

स्काई न्यूज / कात्तिक २४,सल्यान ।
उचित मूल्य नपाएपछि जिल्लाका किसानले यस वर्ष अलैँची बिक्री गर्न सकेका छैनन् । विगतका वर्षहरुमा प्रतिकिलो दुई हजार पाँच सय रुपैयाँ सम्म बिक्री भएपनि यस वर्ष ६ सय २५ रुपैयाँ किलोमा घट्दा अलैँची बिक्री हुन नसकेको हो । कोरोना भाइरस सङ्क्रमणका कारण भएको लकडाउनपछि अलैँचीको कारोबार थप्प हुँदा छ । भारत निकासी हुन नसकेपछि यस वर्ष अलैँचीको कारोबार ठप्प भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । १ रोपनीमा अलैँचीले मूल्य नपाएपछि घरमै थन्किएको बनगाड कुपिण्डे नगरपालिका वडा -६ काराकोटका ४६ वर्षीय टोप बहादुर पुनले बताए ।

५ सय रुपैयाँ किलोमा पनि बिक्री नभएपछि धेरै बोटहरु फालेको उनले बताए । उनले भने ‘अलैँची खेती गर्दा रामै्र मूल्य थियो तर अहिले फल दिन थालेपछि भने मूल्य नै छैन् ।’ अन्नबाली लगाउने बारीमा अलैँचीखेती गर्दै आएका किसान अलैँचीको मूल्य गिरावट आएपछि मारमा परेको अर्का किसान भीम बहादुर यरीले बताए । उनले भने ‘अलैँची बिक्री गर्न ग्राहक खोज्दै छु तर अहिलेसम्म भेट्टाएको छैन ।’ अदुवा र बेसार पछिको तेस्रो नगदेबाली रहेको अलैँची जिल्लामा १५ हेक्टर क्षेत्रमा खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए । जिल्लामा वार्षिक १६ मेटिक्टन अलैँची उत्पादन हुने गरेको उनको भनाई छ । नगदेबालीको रुपमा रहेको अलैँची खेती प्रति किसानहरुको आर्कषण बढिरहेको समयमा निर्यात ठप्प हुँदा समस्या भएको आचार्यको भनाई छ ।

 

Translate »