३ दिनसम्म वाणिज्य बैंकका सबै शाखा बन्द हुने
कात्तिक २५, काठमाडौं ।
नजिकिदै गरेको तिहारमा तीन दिनसम्म वाणिज्य बैंकका शाखा कार्यालयहरु बन्द हुने भएका छन् । बैंकिङ्ग सेवा नियमित रुपमा प्रदान गर्दै आइरहे पनि वाणिज्य बैंकका कर्मचारीहरुमा समेत कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएको बताउँदै नेपाल बैंकर्स संघले सूचनामार्फत् कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तिहार विदामा बैंक गर्न लागेको हो । संघका अनुसार वाणिज्य बैंकमा मात्र कोरोना संक्रमित कर्मचारीको संख्या हालसम्म ६ हजारभन्दा बढी पुगेको छ । बैंकका सबै शाखाहरु बन्द हुने भएता पनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने भएकाले सोही माध्यमबाट कारोबार गर्न पनि संघले भनेको छ ।
साथै, सोे अवधिमा एटीएम सेवासमेत यथावत रुपमा प्रयोग गर्न सकिनेछ । कोरोना भाइरस संक्रणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङ्गको अधिकत्तम प्रयोग गर्न पनि संघले भनेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढदै गएको भन्दै संघले ग्राहकलाई घरबाटै कारोबार गर्न तथा आफू र अरुलाई सुरक्षित राख्न सुझावसमेत दिएको छ । गत वर्ष दसैं तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् । (आर्थिक अभियान)