कोरोना कहरपछि आयुर्वेदिकतर्फ आकर्षण

डिलबहादुर खत्री / कार्तिक २५, सुर्खेत ।
कर्णालीमा कोरोना भाइरसबाट संक्रमित पछि आयुर्वेदिक औषधि तर्फ आकर्षण बढेको छ । शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँदै आत्मबल अभिवृद्धि गर्न भन्दै आयुर्वेदिक र जडीबुटी खुवाउने गरिएको हो । चिकित्सकहरुको सल्लाह अनुसार संक्रमणबाट जोगिन धेरैले आयुर्वेदिक औषधि र जडीबुटी खान थालेका छन् । आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपनि सस्तोमा उपचार हुने भएकाले यसतर्फ सेवाग्राहीको आकर्षण बढेको प्रदेश आयुर्वेदिक औषधालय सुर्खेतले जनाएको छ । जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले यसको उपभोग बढि भएकाले यसतर्फ आकर्षण बढेको प्रदेश आयुर्वेदिक औषधालय व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष अध्यक्ष विनोद ढकालले बताए । औषधालयमा अहिले एक सय जनासम्मले दैनिक आयुर्वेदिक औषधि लिने गरेको औषधालयको तथाङकमा उल्लेख छ । कोरोना भाइरस प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको प्रयोग गर्न थालिएको छ । औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले भाइरस संक्रमण प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले गुर्जोको माग बढेको बताए । औषधालयमा हालसम्म करिब तीन हजारले गुर्जो प्रयोग गरेको तथ्यांक छ । उनले औधालयमै आएर गुर्जोको लहरा लिएर झोल बनाएर खाने गरेको बताए । उनका अनुसार हिमाली जडीबुटी, गुर्जो, तुल्सीलगायत जडीबुटीबाट बनेको अमृतचिसा पनि लाभकारी हुने गरेको छ । कर्णालीमा पर्याप्त जडिबुटीको भण्डारण रहेपनि संकलन तथा प्रशोधन अभावमा अहिले प्रदेशबाट बाहिरिने गरेको उनको भनाइ छ ।

भिडियो एक्सरे र ल्याव सेवा संञ्चालनमा
अहिले औषधालयमा भिडियो एक्सरे र ल्याव सेवा सञ्चालनमा आएको छ । यसअघि कर्णाली प्रदेशकै एकमात्र औषधालयमा भिडियो एक्सरे र ल्याव नुहदाँ महंगो शुल्क तिरेर निजी अस्पतालहरुमा जानुपर्ने बाध्यता थियो । ‘१८ लाखको लागतमा एक्सरे मेशिन मेशिन शुरुभएपछि सेवाग्राहीलाई सेवा दिन सहज भएको औषधालय व्यवस्थापन समितिका अध्यक्ष ढकालले भने, ‘औषधालयले अत्याधुनिक डिजिटल ल्याब जडान गरि अन्य सरकारी अस्पताल भन्दापनि सस्तो मुल्यामा भिडियो एक्सरे लगायतका सेवा दिईरहेका छौ ।’ उनले अन्य अस्पताल तथा निजी मेडिकल भन्दा छिटो छरितो र सहज रुपमा गुणस्तरिय सेवाहरु प्रदान गरिएको दावी गरे । पहिले नाम मात्रको आयुर्वेदिक औषधालय भएपनि आफु आएपछि धेरै सेवाहरु सुचारु गरिएको उनको भनाइ छ । कोभिट–१९, का कारण आयुर्वेदिक औषधि तर्फ आकर्षण बढेको भन्दै सरकारले अब आयुर्वेदिक चिकित्सालाई प्रथामिकतामा राख्नुपर्नेमा उनको जोड छ । अध्यक्ष ढकालले भौतिक पुर्वाधार लगायत अन्य सेवाहरुको अभाव हुदाँ सेवालाई थप प्रभावकारी बनाउन नसकिएको जनाए । उनका अनुसार औषधालयले गरिब, असाहय, अपाङगता भएका अल्पसंख्यकहरुबाट कुनैपनि शुल्क नलिएर सबै प्रकारका सेवाहरु दिईरहेको छ ।
सेवाग्राहीको चाप बढ्यो
पछिल्लो समय औषधालयबाट गुणस्तरिय सेवा दिईएपछि सेवाग्राहीको चाप बढ्न थालेको छ । तर भौतिक पूर्वाधार र आवश्यक जनशक्ती अभाव हुदाँ सेवा पु¥याउन निकै कठिन भएको छ । अहिले औषधालयले ओपीडी, पञ्चकर्मा, क्षारसुत्र, शंख प्रक्षालय, फिजियोथेरापी लगायतका सेवाहरु दिईरहेको छ । सरकारले आयुर्वेदिक क्षेत्रलाई वेवास्ता गर्दा औषधालयमा भएको उपकरण पनि थन्किने अवस्थामा पुगेका छन । कर्णालीको जडिबुटी प्रशोधन गरी औषधि उत्पादन गर्न औषधालयको स्तरोन्नती गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनाउने योजना रहेको प्रमुख डाक्टार रिजालले बताउँछन । ‘कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग थप जनशक्ति र स्रोतसाधनको माग गरिए पनि सुनुवाई भएको छैन,’ उनले भने, ‘कोरोना भाईरस संक्रमितलाई आफुहरुले आयुर्वेदक औषधिहरु वितरण गरिएको भएपनि सरकारले अन्य अस्पताललाई लाखांै रकम दिएपनि आयुर्वेदक औषधालय रकम उपलब्ध गराउन सकेन् ।’ उनले जनशक्ति र स्रोतसाधन अभावले स्थानीयस्तरमा उपलब्ध जडीबुटीको संकलन, प्रशोधन गर्न नसकिएको जनाए । उनका अनुसार आयुर्वेद औषधि भरपर्दो र स्थानीयको रोजाइमा परेपनि सरकारले उचित नीति तथा कार्यक्रम ल्याउन नसक्दा समस्या भएको छ ।