कोरोना त्रासका बावजुद कक्षा ११ को परीक्षामा उत्साहजनक सहभागिता
स्काई न्यूज / कार्तिक २६, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा माध्यमिक तह अन्र्तगतको कक्षा ११ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको परीक्षा प्रमाणिकरण कार्यविधि २०७७ बमोजिम जिल्लाका विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गरेको बताएका छन् । जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा अवस्थित जन नमूना माध्यमिक विद्यालयले सोमबारदेखि कक्षा ११ को परीक्षा संञ्चालन गरेको हो । कक्षा ११ को परीक्षा शुरु गर्नुअघि यहाँका सम्बन्धित विद्यालयले स्थानीय तह ,शिक्षा विकास तथा समन्वय इकाइ ,जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरी कोभिड—१९ को जोखिमबाट सुरक्षित रहँदै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाईएको बताएका छन् । कक्षा ११ का लागि ३ सय १६ जना प्रशिक्षार्थी रहेको जन नमूना माविले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको ज्वरो मापन, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गराएको जनाएको छ ।
जन नमूना माविमा शिक्षा विज्ञान, शिक्षा, व्यवस्थापन र विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी परीक्षामा सामेल भएका छन् । जन नमूना माविका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले जिल्लाभरी समुदाय स्तरमा कोरोना देखिएको र कोरोना त्रासका बावजुद पनि राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका अनुसार कक्षा ११ को परीक्षा शुरु गरिएको बताए । उनले यसपटक परीक्षा बोर्डको निर्देशन अनुसार स्थानीय तहसँग समन्वय गरी सम्बन्धित विद्यालय आफैले प्रश्नपत्र निर्माण गरी परीक्षा शुरु गरेको जानकारी दिए । जन नमूना माविले विद्यार्थीलाई परीक्षा हलमा २ मिटरको दुरी कायम गरेको छ भने ज्वरो आएका विद्यार्थीलाई बेग्लै परीक्षा दिने व्यवस्था मिलाएको जनाएको छ । जिल्लाका प्रायः सबै स्थानीय तहमा अवस्थित माविले कक्षा ११ को परीक्षा संञ्चालन गरिरहेका छन् । बैशाखमा हुनुपर्ने कक्षा ११ को परीक्षा कोरोना भाईरसका कारण ८ महिनापछि धकेलिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गते माध्यमिक तहको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तैयारी गरेअनुसार त्यसअघि कक्षा ११ को परीक्षा शुरु भएको हो । सुर्खेतमा कोभिड—१९ का कारण लामो सयम देखि रोकिएको कक्षा ११ को परीक्षा शुरु भएसँगै यहाँका विद्यार्थीमा खुसीको रौनक छाएको छ । परीक्षा दिन विद्यालय उपस्थित विद्यार्थीहरुले कोरोना जोखिमका बीचमा विद्यालय र स्थानीय तहको उचित स्वास्थ्य सामाग्री व्यवस्थापनमा कोभिडको भय र सन्त्रासको वातावरणमा पनि आफूहरुलाई सुरक्षित रुपमा परीक्षा दिने व्यवस्था मिलाएको बताएका छन् । महामारीका कारण कोर्ष नै पूरा नभई बिनातयारी परीक्षा दिइरहेका विद्यार्थीको नतिजाका बारेमा अभिभावकहरु चिन्तित देखिन्छन् । साधारणतर्फका विद्यार्थीभन्दा प्राविधिक धारतर्फको परीक्षा दिने विद्यार्थीहरुलाई बढी समस्या देखिएको परीक्षार्थीहरुको गुनासो छ ।