सुर्खेत डेरी उद्योगको अनुगमन

स्काई न्यूज/ कार्तिक २७, सुर्खेत ।
जिल्ला संयुक्त बजार अनुगमन समितिले सुर्खेत डेरी उद्योगको अनुगमन गरेको छ । कर्णाली प्रदेशमै पहिलो पटक ठूलै लगानीमा सञ्चालित सुर्खेत डेरी उद्योगले उत्पादन तथा उपभोग्य मिति उल्लेख नै नगरि दुग्धजन्य पदार्थ विक्री वितरण गरिरहेको गुनासो आएपछि तेस्रो पटक अनुगमन टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा समितिले उद्योगबाट उत्पादित वस्तुमा उत्पादन मिति, उपभोग्य मिति एवं उत्पादन विवरण उल्लेख गरेको रितपूर्वकका लेवल फेला पारेको छ । ‘उद्योगबाट उत्पादित वस्तुमा कुनै कैफियत नभेटिएपनि केही सुझावहरु दिएका छौं,’ खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले भने, ‘उनले उद्योग अवलोकन तथा अन्य कारणले आउने आगन्तुका लागि स्वास्थ्य सुरक्षा मापदण्डका सामाग्री प्रयोग गरेर मात्र प्रवेश दिन सुझाव दिएका छौं ।’ उनले उत्पादन मिति तथा उपभोग्य मिति उल्लेख नगरेको वस्तु विक्री वितरण नगर्न समेत सुझाव दिएको जनाए । उनका अनुसार कोरोना महामारी कायमै रहेकाले सरसफाईमा समेत ध्यान दिन सुझाव दिईएको छ ।

यता उद्योगका सञ्चालक माधव धितालले मिति २०७७ कार्तिक १८ गते दुधको प्याकेटमा एक्कासी विद्युत अवरुद्ध हुँदा डेट कोडिङ्ग गर्ने मेशिनमा आएको प्राविधिक कारणले केही प्याकेट उत्पादन मिति छुटेको स्वीकार गरे । उनका अनुसार उद्योगले विद्युत आउने जाने क्रममा डेट कोडिङ्ग गर्ने मेशिनबाट प्राविधिक त्रुटीले केही प्याकेटमा छुटेकाले तत्कालै सच्चाएर पूर्ववतरुपमै कानून सम्वत उत्पादन, विक्री वितरण गरिरहेको छ । उक्त घटना पछि उत्पादनलाई उद्योगले सबै आवश्यक प्रक्रिया पुरा गरेर मात्र बजारमा पठाईरहेको उनको भनाइ छ । अनुगमन समितिले वीरेन्द्रनगरको कालिनचोक स्थित सुर्खेत डिपार्टमेन्टल स्टोरको समेत अनुगमन गरेको थियो । उक्त डिपार्टमेन्टल स्टोरलाई खाने तथा नखाने वस्तु छुट्टाछुट्टै राख्न, मूल्य सूची राख्न र म्याद नाघेका वस्तु फ्याक्ने स्थान तथा छुट्टाउन निर्देशन दिएको थापाले जानकारी दिए । अनुगमनमा खाद्य प्रविधि कार्यालयका प्रमुख थापासँगै जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा दुर्गा आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसँगै पत्रकार एवं राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।