सेयर बजारमा एकैदिन ६ अर्ब बढीको कारोबार

मंसिर ४,काठमाडौं ।
नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको पुष्टि गरे । उनले भने, ‘यसअघि एकैदिन ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो, आज नयाँ रेकर्ड कायम भएको हो ।’ नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बिहीबार उकालो लागेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक पनि ३० अंक माथिले बढेको छ । बजारमा उल्लास देखिए पछि सेयर बजारका लगानीकर्ताहरु खुसी भएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बिहीबारको कारोबारले लगानीकर्ताहरुलाई थप हौसला प्रदान गरेको बताउँछन् । उनले भने, ‘बजारले ऐतिहासिक रेकर्ड राखेर लगानीकर्तालार्य थप मनोवल बढाएको छ, अब लगानीकर्ता झनै आकर्षित हुनेछन् ।’ कुनै बेलामा झरेर ११ सयमा पुगेको नेप्से परिसूचक अहिले १८ सय नजिक पुगेको छ । अब बजार पहिलेको अवस्थामा नझर्ने रौनियार बताउँछन् । बजार करेक्शन हुनका लागि कहिले काहि घटेपनि पुरानै अवस्थामा नफर्कने उनको अनुमान छ ।
नेप्से ३६ अंकले बढ्यो
बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशत अर्थात ४.९८ प्रतिशतले बढेको छ । दिनभर भएका ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो । (

 

 

Translate »