

स्काई न्यूज / मंसिर ४, सुर्खेत ।
साझा पार्टी कर्णाली प्रदेशले मुगुको लागि आएको चामल भक्तपुर पठाउने व्यापारीलाई कारबाहीसँगै सार्वजनिक यातायातका सवारी साधनमा मनपपरी भाडा असुल्नेलाई कार्वाहीको माग गरेको छ । साझा पार्टीले विहीबार चामल ढुवानीका नाममा कालाबजारीसँगै सार्वजनिक सवारी साधनमा मनपरी भाडा असुल्नेलाई कारबाहीको माग गर्दै कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै साझा पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले पाँच बुँदे ध्यानाकर्षण पत्रमार्फत खाद्यान्नमा अनियमितता गर्नेलाई तत्काल कारवाही गर्न माग गर्दै नागरिकको खाद्य अधिकार र सुरक्षाको सुनिश्चितता गर्न प्रदेश सरकारसँग माग गरिएको जनाए । उनले सार्वजनिक यातायातका सवारी साधनमा मनपरि भाडा असुल्ने काम भइरहेकाले तत्काल सर्वसुलभ एवं स्तरीय यातायातको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए ।


कोरोना महामारीको समयमा कर्णालीका जनताबाट यातायात व्यवसायीले पनि मनपरी भाडा लिएकोप्रति सरकारको ध्यानाकर्षण गराईएको उनको भनाइ थियो । ‘कर्णालीको पेटमा भोकमरीको लात, दलालको मुखमा मार्सीको भात’ भन्ने नारासहित प्रदर्शन गरेको साझा पार्टीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ढुवानीकर्ता बासुदेव शर्मालाई प्रहरीले कात्तिक १७ गते अनुसन्धानको लागि नियन्त्रणमा लिए पनि एक सातामै छोडेको प्रति आपत्ती जनाएको छ । प्रहरी–प्रशासनले दवाव र प्रभावमा परेर कालोबजारी गर्ने व्यापारी शर्मालाई जमानीमा छोड्नुका साथै मुद्दा फितलो बनाउने प्रयास गरिरहेको साझा पार्टी कर्णाली प्रदेश संयोजक दाहालले आरोप लगाए । उनले घटनाको निश्पक्ष छानबिनसहित ठगी र कालोबजारी गर्नेलाई व्यापारीलाई कुनैपनि बहानामा बचाउन खोजियो भने त्यसको मूल्य महँगो पर्ने चेतावनी दिए ।












