अग्नि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग

मंसिर ५,बाँके ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले अग्नि नियन्त्रण सम्बन्धी प्रभावकारी कदम चाल्न सरोकारवाला निकायसँग माग गरेको छ । सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले विज्ञप्ति जारी गरी उक्त माग गरेका हुन । सङ्घले नेपालगन्ज बिपी चोकस्थित न्यूस्टार सिरक सप्लायर्स र न्यूरोड क्षेत्रस्थित सद्भाव प्रिन्टिङ प्रेसमा गत कार्तिक ३० गते भएको आगलागीबाट अत्यन्त दुःखी भएको उल्लेख गरेको छ । विद्युत् सर्किटका कारण आगलागी हुन गई भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै सम्बन्धित व्यवसायीमा पर्न गएको अकल्पनीय घटना प्रति सहानुभूति प्रकट गरेको छ ।

आगलागीका कारण हरेक वर्ष व्यवसायीक प्रतिष्ठानले अपूरणीय क्षति व्यहोर्दै आएका थुप्रै उदाहरण रहेको बताउँदै सङ्घले यस्ता घटना बढ्दै गए पनि अग्नि नियन्त्रणका साधनहरू प्रभावकारी बन्न नसकेको उद्योगी, व्यवसायी एवं आमनागरिकहरुका तर्फबाट गुनासा आइरहनु दुःखद पक्ष भएको जनाएको छ । सकभर आगलागी हुनै नदिन सजकता अपनाउन र दुर्घटनावश त्यस्ता घटना भइहाले पनि तत्काल नियन्त्रण गर्ने प्रभावकारी साधन तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरूसँग अपिल गरिएको छ । उद्योगी, व्यवसायीहरूले आफ्नो उद्योग प्रतिष्ठानमा अग्नि नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न र दुर्घटनापछि हुने क्षति न्यूनीकरणका लागि बिमा प्रक्रियामा जान हार्दिक आह्वान गर्दै सङ्घले क्षतिपछि सम्बन्धित निकायबाट हुने कागजी प्रक्रिया सहजताका लागि प्रशासनिक निकायलगायत बिमा कम्पनीबाट उपलब्ध गराउने क्षतिपूर्ति रकम सहजताका साथ प्रदान गर्न सम्बन्धित निकाय समक्ष हार्दिक अनुरोध गरेको छ ।

 

Translate »