सुर्खेतमा मंसिर ९ गते उद्योग दिवस मनाईदै

स्काई न्यूज / मंसिर ६, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले औद्योगिक प्रबर्द्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर ९ गते उद्योग दिवस मनाउने तयारी गरेको छ । उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक मुकुन्दनाथ योगीको अध्यक्षतामा शनिबार वीरेन्द्रनगरमा सरोकारवालासँग गरेको छलफल कार्यक्रममा स्वास्थ्य सुरक्षा अपनाएर उद्योग दिवस मनाईने निर्णय गरेको हो । निर्देशक योगीले कोभिड–१९, ले उत्पन्न समस्याका कारण उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने न्यूनतम् अतिथिका वीच उद्योग दिवस मनाईने जानकारी दिए । उनले दिवसको अवसर पारेर कर्णाली प्रदेशमा उद्योगको अवस्था, समस्या, निराकरण र भावि रणनीति बारेमा समेत छलफल गर्नुका साथै उत्कृष्ट महिला उद्यमीलाई हरेक वर्ष सम्मानित गर्न प्रदेश सरकारसँग अनुरोध गरिने बताए । उनका अनुसार कोरानाका कारणले यस वर्ष गर्न नसकिएपनि आगामी वर्षमा दिवसको अवसर पारेर समग्र उद्योग क्षेत्रमा विशिष्ट योगदान पु¥याउने उद्योगीलाई सम्मानका साथै उत्कृष्ट उद्योगहरुलाई पुरस्कृत गरिने छ । छलफलमा सुर्खेत उद्योग वाणिज्य संघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, डिमेगा एवं राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Translate »