बर्दियामा करिब ४३ हजार बालबालिकालाई भिटामिन ए खुवाइँदै

मंसिर ११, काठमाडौं ।
राष्ट्रव्यापी रुपमा आज र भोलि पाँच वर्षमुनिका बालबालिकाहरूलाई भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाउने कार्यक्रम अन्तर्गत बर्दियामा करिब ४३ हजार ३ सय बालबालिकाहरुलाई खुवाइँदै छ । बर्दिया जिल्लाका आठ वटै पालिकाका ६ महिनादेखि ५ बर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ वर्षदेखि ५ बर्ष उमेर समूहका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउने र ६ महिनादेखि २ बर्ष उमेर समूहका बालबालिकाहरूलाई बालभिटा वितरण गर्न लागिएको हो । बर्दियामा करिब ४३ हजार ३ सय बालबालिकालाई भिटामिन ए, ३८ हजार २ सय बालबालिकाहरूलाई जुकाको औषधि खुवाउनलाई करिब ८ सय ४१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी गराए ।

 

उक्त कार्यक्रम अन्तरगत भिटामिन ए, जुकाको औषधि, बालभिटा खुवाउने र पाखुराको नाप लिने रहे पनि कोरोनाका कारण पाखुराको नाप नलिने बताए । आज र भोलि (२०७७ मङ्सिर ११ र २२ गते) खुवाउने कार्यक्रम अनुसार आज तोकिएको केन्द्रहरूमा खुवाइँदै छ भने भोलि खान छुटेका बालकालिकाहरुको घरमै गएर खुवाउने कार्यक्रम रहेको प्रमुख गिरीले जानकारी गराए । राष्ट्रिय भिटामिन ए कार्यक्रम वर्षमा दुई पटक सञ्चालन हुने गर्छ । आज र भोलि पहिलो चरणको कार्यक्रम सञ्चालन भइरहेको छ । उक्त कार्यक्रम सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्दै प्रतिघण्टा एक केन्द्रमा १० जना मात्र बालबालिका उपस्थित हुने गरी व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

Translate »