पेन्टिङ मार्फत सुर्खेतका पर्यटकीय स्थल चिनाउँदै ‘सपना’

स्काई न्यूज / मंसिर ११, सुर्खेत ।
कला समाजको विम्ब हो, सभ्यताको परिचय र पहिचान हो । यसले सभ्य समाजको परिचय मात्र होइन, संस्कृति र जीवनपद्धतिको बारेमा समेत सूक्ष्म तरिकाले चिनाउने काम गर्दछ । कलाविनाको समाज सभ्य बन्न सक्दैन । जतिसुकै सम्पन्न र वैज्ञानिक आविष्कार भए पनि कला छैन भने त्यो समाज सभ्य र सुसंस्कृत बन्न सक्दैन । कला र संस्कृतिले मात्रै समाजको दीर्घकालीन सभ्यताको परिचय दिन सक्छन् । विश्वमा भएका कतिपय राजनीतिक परिर्वतन पनि कला र संस्कृतिको विकास हुन नसक्दा धरासायी भएर ढलेका छन् । त्यसैले समाजको स्थायी परिवर्तन र स्थायित्वका लागि पनि कला र संस्कृतिको महत्व बढेर गएको छ ।

यसै सन्दर्भमा सर्लाहीको सिसौटिया मुलघर भई काठमाडौं बसाई सराई गरेकी सपना शाह यतिबेला पेन्टिङ मार्फत सुर्खेत चिनाउने अभियानमा जुटिरहेकी छिन् । आफ्नो चार सदस्यीय टोलीसहित सपना रानीघाट प्रहरी चौकीको भवनका भित्तामा पेन्टिङ मार्फत जिल्लाका सुन्दर पर्यटीय स्थल चिनाउन व्यस्त रहेको देखिन्छिन् । सुर्खेत, दैलेख र जाजरकोटका विभिन्न प्रहरी कार्यालयमा पेन्टिङ गर्न उनको आफ्नै फर्म ‘सपना क्रियशन’ लाई यूएनओपीएसले आर्थिक सहयोग गरेको छ । उनले चित्र (पेन्टिङ) मार्फत सुर्खेतको भेरी पुल, देउती बज्यै मन्दिर, काँक्रेविहार र घण्टाघर लगायतका क्षेत्रलाई चिनाउने कोशिस गरेकी छिन् । उनलाई सुन्दर पेन्टिङ बनाउन नम्रता नेपाली, रेनु मुक्तान र शर्मिला तामाङले साथ दिईरहेकी छिन् । ती मध्ये रेनु मुक्तान र शर्मिला तामाङ अपाङ्ग सशक्त हुन् । ‘प्रहरी कार्यालयमा पुग्ने जोकोहीलाई सपनाले पेन्टिङ मार्फत चित्रण गरेको सुर्खेतका पर्यटकीय स्थलको चित्र एकछिन नहेरेसम्म मन नै मान्दैन्,’ रानीघाट प्रहरी चौकीका ईन्चार्ज (प्रहरी हवाल्दार) मानबहादुर भण्डारीले भने, ‘मैले चित्र भनेको सामान्य नै होला भन्ने बुझेको थिए, तर त्यस्तो रहेनछ । यो त हाम्रो कल्पना शक्तिसँगै सृजनशीलताको पहिचान पो रहेछ ।’ उनले पेन्टिङमा कोरियाका चित्रले हाम्रो वर्तमान र भविष्य समेत बताउने गरेको जिकिर गरे ।
सपनाको टीमले यसअघि सुर्खेतकै ईलाका प्रहरी कार्यालय छिन्चुमा पर्यटन प्रवद्र्धनका लागि जिल्लाको पहिचान झल्किने चित्र (पेन्टिङ) कोरिसकेको छ । यो टीम अब दैलेखको चुप्रा र तल्लो डुङगेश्वर प्रहरी चौकीका भित्तामा दैलेखकै पर्टकीय स्थलको पहिचान चित्र (पेन्टिङ) मार्फत उर्ताने कार्यक्रम रहेको सपना बताउँछिन् । उनका अनुसार दैलेखपछि टोलीले जाजरकोटको रिम्ना र सिमा प्रहरी चौकीमा जाजरकोटकै ईतिहासिक स्थलको चित्रण (पेन्टिङ) मार्फत गर्नेछ । उनले पेन्टिङमा कोरिएका चित्र मार्फत जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । ‘पेन्टिङ मार्फत सुर्खेतलाई चिनाउने यो हाम्रो सानो प्रयास मात्र हो,’ उनले भनिन्, ‘जिल्लामा हामीले देखेका दृष्यलाई प्रत्यक्ष हेरेर पेन्टिङ मार्फत प्रहरी कार्यालय जस्तो बढी भिडभाड हुने स्थलमा पर्यटकीय स्थलको बारेमा जानकारी दिन पाउँदा खुशी लागेको छ ।’ उनले पेन्टिङ व्यक्तिगत प्रकृति र उसको रुचीमा भर पर्ने भएपनि प्रत्यक्ष आफैले हेरेर चित्र कोर्ने मजा नै फरक हुने गरेको बताईन् । ‘घर तथा कोठाको सजावटमा भित्ता (वाल) को अहम् भूमिका हुन्छ । साधारण देखिने कोठालाई पनि भित्तामा एउटा मात्र पेन्टिङ राखिएको छ भने त्यसले कोठाको सुन्दरता वा शोभा बढाइदिन्छ,’ उनले भनिन्, ‘कोठाभित्र पस्दा पहिलो नजर महँगा समान तथा फर्निचरभन्दा वाल पेन्टिङमै जान्छ । यसैले भित्ताको सजावटका लागि विभिन्न किसिमका ‘डेकोरेटिभ प्रडक्ट’हरुको प्रयोगमा मान्छेको रुची तथा सोख भईहाल्छ ।’ उनले भित्तामा सुन्दरता थपेर कोठाको सजावट र शोभा बढाउन ‘पेन्टिङ’ नरुचाउने सायदै कोही हुने गरेको बताईन् । पेन्टिङले व्यक्तिको सकारात्मक सोच तथा भावना जगाउने, मनमा आनन्द महसुस गराउने गरेको उनको अनुभव छ । ‘यद्यपि यो अलिक खर्चिलोे सजावट भएकाले यसलाई सोखसँग समेत जोडेर हेर्ने गरिन्छ,’ उनले भनिन्, ‘प्रायः उच्च वर्गका व्यक्तिले पेन्टिङ किन्ने गरेको भएपनि पछिल्लो समय सबै वर्गमा यसप्रतिको मोह बढ्दै गएको छ । यसैले कस्तो वर्गका समूहले भन्दा पनि कुन उमेर समूहले पेन्टिङमा रुचि बढि देखाउछन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ उनले सुर्खेत लगायत कर्णाली प्रदेशमै कला, संस्कृति मार्फत पर्यटन प्रवद्र्धनसँगै विकास र विस्तार गर्न आवश्यक रहेको आल्याईन् । उनका अनुसार कला संस्कृति मार्फत पर्यटन प्रवद्र्धन जति धेरै गर्न सके त्यत्ति नै यसको मौलिक मात्र नभई आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान रहन सक्छ ।