पुष्पलाल मध्यपहाडी राजमार्गको काम कछुवा गतिमा

मंसिर १८, दैलेख ।
पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ । आयोजनाले सडकको सबै पूर्वाधारको तयारीपश्चात् विसं २०७३ देखि मात्रै कालोपत्रका लागि ठेक्का खोलिएको दैलेख खण्डमा पर्ने १२५ किलोमिटर सडकमध्ये २५ किलोमिटर मात्र कालोपत्र भएको छ । अब काम धमाधम अगाडि बढिरहेको मध्यपहाडी आयोजना कार्यालय दैलेख प्रमुख डा अर्जुनकुमार बमले बताए । दुई ओटा पक्की पुलसहित १२ ओटा ठेक्का अहिले सञ्चालनमा आएका छन् । काम शुरु भएदेखि यो वर्षसम्मको ठेक्कामा कुल रू.चार अर्ब २७ करोडको लागतमा विभिन्न स्थानमा काम शुरु गरिएको छ । अहिलेसम्म रू.एक अर्ब ३४ करोड भुक्तानी भइसकेको आयोजनाले जानकारी दिएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख बमका अनुसार रुकुम पूर्व र अछामसम्म रू. १० अर्ब ८८ करोड ५९ लाख बराबरको विभिन्न ठेक्कामार्फत सडक कालोपत्रका लागि काम शुरु भइरहेकोे छ ।

पक्की नाली र ग्राभेल उप्काउँदै कालोपत्रको तयारी

मध्यपहाडी सडकखण्डअन्तर्गत दैलेख खण्डका कतिपय स्थानमा छ वर्षअघि पक्की नाली र ग्राभेल सम्पन्न भएको थियो । उक्त कामका लागि करोडौँ रकम राज्यकोषको खर्च गरियो तर अहिले पक्की नाली भत्काएर पुनः काम शुरु भइरहेको छ । ग्राभेल थुपारेर राखिएको छ । वन क्षेत्र र सहजै सडक चौडा गर्न सकिने स्थानमा बनाइएका नाली पुरिनु र ग्राभेल जम्मा गरेर राखिनुले यसअघि गरिएको गलत इञ्जिनीयरिङका कारण राज्यकोषको करोडौँ रकम फजुल खर्च भएको स्पष्ट देखिएको छ ।

विशेष गरेर सदरमुकामको लोहोरेदेखि भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाको सिमाना चगर्तासम्मको सडकखण्डमा अहिले कुनै पनि पुरानो संरचना देख्न र भेट्न पाइँदैन । करोडौँ रकम यसअघि यही सडकमा खर्च भयो, ओहोरदोहोर गर्दा देखिने पुराना संरचना अहिले कुनै पनि देखिँदैनन्, ग्राभेल थुपारेर राखिएको छ । यसरी सडककै नाममा फजुल खर्च नियोजित रूपमा गरिएको हुनसक्ने यस्ता कुराको छानबिन हुनुपर्ने माग स्थानीयवासीको छ । विगत छ वर्ष अघिदेखिको कामको सूचना माग गर्दासमेत आयोजनाले सूचना प्रदान गर्न सकेन । अहिले विभागमा मात्र यसको जानकारी हुने भन्दै विवरण उपलब्ध गराउन नसकिएको आयोजनाका कर्मचारीले बताउँदै आएका छन् ।

चार ओटा कम्पनीको म्याद थप
सदरमुकामको पूर्वी खण्डमा पर्ने विभिन्न सडकखण्डको कालोपत्रेको काम विसं २०७७ असारसम्म सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता गरेका चार कम्पनीले कोरोना कहर देखाउँदै पुनः ६ महीनाका लागि म्याद थप गरेका छन् । विसं २०७७ असारसम्म काम सक्ने जिम्मेवारी पाएका रमन केएल जेभी, शर्मा गजुरमुखी, पुप्पु हाई हिमालय जेभीले म्याद थप गरेको आयोजनाले जानकारी दिएको छ । दैलेख खण्डका लागि ठेक्का सम्झौता गरेका अन्य नौ वटा कम्पनीको म्याद २०७८ र २०७९ मा सम्पन्न हुने सम्झौतामा उल्लेख गरिएको छ । (रासस)

 

Translate »