विपदबाट मृत्यु भएका परिवारलाई २ लाख


स्काई न्यूज /मंसिर २१, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले विपदबाट मृत्यु भएका परिवारका सदस्यलाई २ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा विहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु आइतबार सार्वजनिक गर्दे सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले विपदबाट मृत्यु भएका प्रति परिवारलाई २ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिईन् । उनले पहिलो चरणमा प्रदेशमा विपदबाट मृत्यु भएका २३ परिवारलाई ४६ लाख रकम दिने निर्णय भएको बताईन् । उनका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयको स्वीकृत बजेट अन्तर्गतको दुर्घटना उद्दार कार्यक्रम संशोधन गरेर राहत रकम दिने निर्णय गरिएको हो । उक्त राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मृतकको यकिन गरेर दोहोरो नपर्ने गरी  उपलव्ध गराइने व्यवस्था मिलाईएको उनको भनाइ छ । बैठकले भवन निर्माण तथा पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माणको लागि ३ करोड ९३ लाख, प्रहरी संरचना निर्माणमा ५ करोड र प्रहरी तालिम केन्द्र निर्माणमा १ करोड बजेटको अख्तियारी कर्णाली प्रदेश प्रहरी कार्यालयलाई स्वीकृत प्रदान गरेको छ । त्यस्तै बैठकले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले प्रस्ताव गरेको संगठन संरचना र दरवन्दी समेत स्वीकृत गरेको उनको भनाइ छ ।

Translate »