चौकुनेको बण्डाली सामुदायिक वनको निर्वाचनमा संयुक्त प्यानल विजयी

ईन्द्रबहादुर सलामी दशौं पटक अध्यक्ष

स्काई न्यूज /मंसिर २८, सुर्खेत ।
पश्चिम सुर्खेतको सबैभन्दा ठूलो बण्डाली सामुदायिक वनको निर्वाचनमा नेकपा निकट संयुक्त प्यानल विजयी भएको छ । चौकुने गाउँपालिका–६ र ८ नम्वर वडाको बण्डाली सामुदायिक वन उपभोक्ता समितिको शनिबार भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार ईन्द्रबहादुर सलामीको प्यानलसहित विजयी भएको हो । गएराती अबेर सम्पन्न मतगणना अनुसार संयुक्त प्यानलबाट सलामीले २ सय ४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । यो जीतसँगै उनी दशौं पटक अध्यक्ष बन्न सफल भएका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका जंगबहादुर कामीले १ सय ७० मत ल्याएको निर्वाचन अधिकृत रामबाबु बिसीले जानकारी दिए । उनका अनुसार संयुक्त प्यानलबाट उपाध्यक्ष लक्ष्मि सुनार, सचिव सीता साउद, कोषाध्यक्ष दुर्गा बुढा, सह–सचिव गोविन्दप्रसाद सापकोटा तथा सदस्यमा देविलाल ढकाल, डिल्लीराम पौडेल, थिरराज अधिकारी, यमु आउजी, यामलाल अधिकारी एवं कलसा बुढाक्षेत्री विजयी भएका छन् । विजयी कार्यसमितिलाई शुक्रबार शपथ ग्रहण गराउने कार्यक्रम रहेको उनले जनाए । पाँच सय ५४ मतदाता रहेको बण्डालीको निर्वाचनमा ४ सय ३ मत खसेकोमा २९ मत बदर थिए ।

 

Translate »