होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई ग्राहकमैत्री बन्न प्रजिअ रेग्मीको आग्रह

स्काई न्यूज /पुष २, सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई ग्राहकमैत्री बन्न आग्रह गरेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय सुर्खेतले विहीबार वीरेन्द्रनगर आयोजना गरेको होटल एवं रेष्टुरेन्टहरुलाई खाद्य स्वच्छता सम्बन्धि तालिम कार्यक्रमका बोल्दै उनले सेवालाई नै धर्म सम्झेर होटल तथा रेष्टुरेन्टबाट उपलब्ध गराईने सेवा ग्राहकमैत्री हुन आवश्यक रहेको औल्याए । ‘सुर्खेत अब जिल्ला सदरमुकाम मात्र होइन, प्रदेशकै राजधानी भएकाले यहाँका होटल तथा रेष्टुरेन्टले गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्छ,’ उनले भने, ‘आफ्नो व्यवसायप्रति जिम्मेवार बन्दै स्मार्ट सेवा सुविधासँगै ग्राहकमैत्री वातावरण आजको आवश्यकता हो ।’ उनले कानून विपरित व्यापार, व्यवसाय दिगो हुन नसक्ने भएकाले सबैको प्रतिबद्धताबाट मात्रै खाद्य वस्तु स्वच्छ राख्न मदत पुग्ने बताए । उनका अनुसार उपभोक्ताको साथ खेलवाड गर्नेलाई कानूनले कसैलाई काखा र पाखा नगर्ने भएकाले व्यवसायी खुद सचेत हुन जरुरी छ । प्रजिअ रेग्मीले खाद्य ऐन तथा नियमावलीबारे होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई प्रशिक्षण दिदै खाद्य ऐन, नियमावली, निर्देशिकाले व्यवस्था गरेको मापदन्ड पुरा गरेर मात्र व्यवसाय सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले होटल एवं रेष्टुरेन्ट व्यवसायीलाई खाद्य स्वच्छता, खाद्य ऐन, खाद्य वस्तुमा मिसावट जाच्ने तरिका, होटल रेष्टुरेन्ट सम्बन्धि निर्देशिका बारेमा जानकारी गराए । उनले मंसिर ३० गतेदेखि पौष २ गतेसम्म सञ्चालन हुने तालिममा वीरेन्द्रनगरका करिब तीन दर्जन होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धि प्रशिक्षण दिइने बताए । त्यस्तै राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई ब्यवसायी धर्म निभाउँदै व्यपार, व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले विक्रेता पनि उपभोक्ता भएकाले उपभोक्ता हक, हित र अधिकार संरक्षणमा सबैको सहभागिता अपरिहार्य रहेको औल्याए ।

Translate »