२०८३ असोज १७ , शनिबार
Sky News Nepal
October 3, 2026

२९ लाखमा आलु चिस्यान घर निर्माण

रष्टीक स्टोरले कृषकमा उत्साह


स्काई न्यूज /पुस १५, सुर्खेत ।
मुगुको खत्याड गाउँपालिका—५, खमाले गाउँ अर्गानिक आलु उत्पादनका लागि चर्चित छ । आलु उत्पादनका लागि खमाले गाउँको भू—बनावट मिल्नुका साथै हावापानी अनुकुलन भएपनि उचित भण्डारण अभावमा बढी उत्पादन भएको आलु खेर जाने गर्दथ्यो । कृषकले वर्षेनी आलु उत्पादन गरेपनि पुरानै शैलीमा खाडल खनेर राख्ने चलन थियो । त्यसरी खाडल खनेर राखिएको आलु बढीजसो कृहिएर जाने गथ्र्यो । तर, अहिले खमालेमा सुविधा सम्पन्न आलु भण्डारण भवन (रष्टीक स्टोर) निर्माण भएपछि कृषकको दिन फेरिएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, अनुकुलन कोष, विश्व खाद्य कार्यक्रम एवं ग्रामीण सामुदायिक विकास केन्द्र मुगुको संयुक्त साझेदारीमा सञ्चालित क्याफ्स कर्णाली परियोजनाको सहयोगमा आलु भण्डारण भवन निर्माण भएको हो । रष्टीक स्टोरले ग्रामीण क्षेत्रमा उत्पादित आलुलाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुग्ने छ । विद्युतको उपलब्धता नहुँदापनि सञ्चालन गर्न सकिने रष्टीक स्टोर स्थानीय प्रविधिको प्रयोग गरी कम लागतमा निर्माण गरिएको ग्रामीण सामुदायिक विकास केन्द्र मुगुका कार्यकारी निर्देशक जर्मन नेपालीले बताए । उनले खत्याड गाउँपालिका स्थित खमालेमा करिव ८.५ हेक्टर क्षेत्रफल जमिनमा वार्षिक ६० टन आलु उत्पादन भईरहेको जनाए । ‘उचित आलु भण्डारणको अभावमा यस क्षेत्रका कृषकले आफ्नो उत्पादन कम मूल्यमा विक्री गर्दै आएका थिए,’ उनले भने, ‘अब गाउँमै रष्टीक स्टोर निर्माण भएपछि आलुको माग बढेका बेला कृषकले बढी मूल्यमा सजिलै विक्री गर्न सक्ने छन् ।’ उनले कृषिजन्य वस्तुको भण्डारण रष्टीक स्टोर निर्माणले यस क्षेत्रका कृषकको पुरानो मागलाई सम्बोधन गर्न गाउँपालिकाले समेत महत्वपूर्ण भूमिका खेलेको जनाए ।

गाउँमै रष्टीक स्टोर निर्माण भएपछि खमालेका कृषकमा नयाँ उत्साह पलाएको छ । आलु उत्पादन धेरै हुने खमालेमा रष्टीक स्टोर निर्माणपछि बजारीकरणको समेत समस्या रहेको स्थानीय कृषक दत्त बुढाले बताए । उनका अनुसार स्थानीय माझचौर बजारमा मात्र आलु विक्री हुने गरेको छ । ‘पहिले आलु खाडल खनेर राख्दा कृहिएर खेर जाने समस्या थियो,’ उनले भने, ‘अब गाउँमै रष्टीक स्टोर निर्माण भएपछि कृहिएर खेर जाने चिन्ता त हट्यो, तर बजारीकरणको समस्या कायमै छ ।’ उनले रष्टीक स्टोर निर्माणले आलुको गुणस्तर कायम हुनुका साथै चाहिएका बेला सजिलै विक्री गर्न सकिने विश्वास व्यक्त गरे । क्याफ्स कर्णाली परियोजनाको २९ लाख रुपैयाँ लगानी रहेको परियोजनामा करिव १० मेट्रीक टन आलु भण्डारण गर्न सकिने छ । भवनलाई सुरक्षाका लागि चारैतिर घेरबार गरिनुका साथै धारा एवं शौचालयको व्यवस्था रहेको छ । भवन भित्र आलु भण्डारण गर्न सहजताका लागि काठका ¥याकहरु निर्माण गरिएका छन् । भवनमा कृषकको मात्र आलु भण्डार गरिनेछ । प्रत्येक कृषकले आप्mनो आलु भण्डारण गरेको ¥याकमा आफ्नै चाबी लगाउने व्यवस्था गरिएको छ भने भण्डारण गरे वापत न्यून शुल्क उपभोक्ता समितिलाई बुझाउने छन् । कृषकले रष्टीक स्टोरमा आलु भण्डारण गरे वापत संकलित रकमबाट भवन रेखदेख गर्ने १ जना कर्मचारी भवन उपभोक्ता समितिले राख्नेछ । यता भवन राम्रो बनेको भन्दै मर्म अनुसार त्यसलाई प्रयोगमा ल्याउन खत्याड गाउँपालिका—५, नम्वर वडाअध्यक्ष मानसिङ्ग रोकायले आग्रह गरे । ‘किसानले धैर्य गरेर आलु भण्डारण गर्न सके व्यापारी गाउँमै पुग्ने छन,’ उनले भने, ‘अर्गानिक उत्पादनले उचित मूल्य पाउने भएकाले खमालेबासीको मुख्य आयको स्रोत नै आलु खेती हुने विश्वास लिएको छु ।’ उनले रष्टीक स्टोर निर्माणबाट कृषकले वेमौसममा आलु विक्री गरेर मेहनतको उचित मूल्य पाउन सहयोग पुग्ने जनाए । उनका अनुसार अब खमाले गाउँमा आलु उत्पादन क्षेत्र विस्तारसँगै बृद्धिमा समेत टेवा पुग्ने छ । तीन सय ८६ घरधुरी रहेको खमाले गाउँका अधिकांस नागरिक कृषि पेशामा आवद्ध छन् ।

प्रकाशित मिति : २०७७ पुस १५ गते बुधबार
Translate »