कर्णालीमा ७ हजार बढी कोरोना संक्रमित

शनिबार १२ जना थपिए

स्काई न्यूज /पुस १८, सुर्खेत ।
कर्णाली प्रदेशमा कोरोना संक्रमित ७ हजार बढी पुगेका छन् । स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउँदा समेत कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन् । शनिबार १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमित मध्ये सुर्खेतका ५, दैलेख ४, जुम्ला १ र अन्य प्रदेशका २ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यो सँगै प्रदेशमा हालसम्म कोभिड–१९ संक्रमित पुष्टि भएको संख्या ७ हजार ३ सय ६९ पुगेको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेमा सुर्खेत–३ हजार १ सय ८९, दैलेख–१ हजार ६ सय ६३, जाजरकोट–१ सय ५४, सल्यान–६ सय ६२, रुकुम पश्चिम–२ सय ५५, जुम्ला–४ सय ५, कालिकोट–३ सय २८, हुम्ला–५७, मुगु–४१, डोल्पा–३६, अन्य प्रदेशका ५ सय ७४ सँगै भारतका ५ जना रहेको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार शनिबार प्रदेशमा एक जना मात्र कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । उनले प्रदेशका विभिन्न आइसोलेशनमा उपचाररत ७ हजार १९ जना संक्रमित हाल निको भई घर फर्किसकेको जनाए । हाल प्रदेशका विभिन्न आइसोलेशनमा १ सय ७९ जना सक्रिय विरामी उपचाररत रहेको उनको भनाइ छ ।
प्रदेशमा हालसम्म २६ जनाको मृत्यु
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना रहेका छन् । उनका अनुसार दैलेखका–६, डोल्पा–१, कालिकोट–१, रुकुम पश्चिम–१ तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेमा ८ महिलासहित १८ जना पुरुष रहेका छन् ।
तीन जिल्लामा कोरोना संक्रमित शून्य
कर्णालीका तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबै संक्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन् । यसअघि रुकुम पश्चिममा २ सय ५५, कालीकोटमा ३ सय २८ र मुगुमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।
९६ हजार बढीको परीक्षण
प्रदेशमा ९६ हजार बढीको कोरोना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म आरटी–पीसीआर विधिबाट ९६ हजार १ सय ५८ जनाको परीक्षण गरिएको जनाएको छ । आरडिटी र पिसिआर विधिबाट परीक्षण गरिएका मध्येबाट ७ हजार ३ सय ६९ जनामा संक्रमण पहिचान भएको हो । कर्णालीका प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल दैलेख र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमका प्रयोगशालाबाट पीसीर परीक्षण हुँदै आएको छ ।

Translate »