उद्यमशीलताबाटै कर्णाली समृद्ध बन्छ : मन्त्री केसी
स्काई न्यूज /पुस २३, सुर्खेत ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उद्यमशीलताबाटै कर्णालीलाई समृद्ध बनाउन सकिने बताएकी छिन् । भेरी राप्ती प्राविधिक शिक्षालय र नवजीवन मल्टीएजुकेशन एकेडेमीले विहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दे उनले उद्यमशीलताको विकासले प्रदेशको गरिवी तथा बेरोजगारी हटाउन मद्दत पुग्ने जिकिर गरिन् । कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहेकी केसीले कर्णालीमा कृषि तथा वनजन्य उद्यममा पर्याप्त सम्भावना रहेकाले प्रदेश सरकार छिट्टै उद्यमीका लागि प्याकेजमै कार्यक्रम ल्याउन लागेको जानकारी दिईन् । उनका अनुसार प्रदेश सरकारले कृषिको व्यवसायिकरणका लागि बैंक मार्फत एक लाखदेखि १ करोडसम्म ७ प्रतिशत व्याज अनुदानसहित साना किसानका लागि विना धितो सहकारी मार्फत ५० हजारदेखि ५ लाखसम्म व्याज अनुदानको व्यवस्था उपलब्ध गराएको छ ।
कार्यक्रममा सीटीईभीटी कर्णाली प्रदेशका निमित्त निर्देशक एकराज अधिकारीले कर्णालीको दिगो आर्थिक विकासका लागि उद्यमका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको औल्याए । उनले उद्यमको प्रवर्द्धन मार्फत गरिवी र बेरोजगारी घटाउन संघ, प्रदेश र स्थानीय तहको समान सहभागिता अपरिहार्य रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष दिपबहादुर बुढाले उद्यमशीलता तालिमका माध्यमबाट स्वरोजगार भएर प्रदेशको समृद्धिमा योगदान पु¥याउन सकिने जनाए । त्यस्तै उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश सदस्य कविराज खत्रीले उद्यमशीलताका माध्यमबाट अघि बढ्न चाहनेहरुका लागि कर्णाली प्रदेश उर्वर भूमि रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले तालिमका माध्यमवाट आर्जन गरेको सीपलाई उद्यमशीलता गरेर बेरोजगारी तथा गरिवी हटाउँदै देशको समृद्धिका लागि हातेमालो गर्न आव्हानु गरे । ‘आफ्नो व्यवसाय शुरु तथा सुधार गर्नुहोस्’ शिर्षकको उक्त १० दिने प्रशिक्षक तथा प्रशिक्षण तालिममा कर्णाली प्रदेशसहित १३ जिल्लाका ४५ जनाको सहभागिता रहेको छ । औद्योगिक व्यवसायिक विकास प्रतिष्ठान काठमाडौंका मास्टर टेर्नर दिलिप थापाले स्वरोजगारी तथा उद्यमी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षक तथा प्रशिक्षण तालिम माघ ३ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।