२०८३ असोज १७ , शनिबार
Sky News Nepal
October 3, 2026

निःशुल्क भाले पाएपछि विपन्न आमाहरु दंग

१३ नम्वर वडाको सुत्केरीलाई रातो भाले कार्यक्रम



अनिता विक/शान्ति सुनार ।
पुस २७, (जर्वुटा) सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, जर्वुटा की गोमा बौडेल २ मंसिरमा सुत्केरी भइन् । उनको घरमा डेढ महिनाको छोरा छ । यो बेला उनलाई पौष्टिक आहाराको निकै खाँचो पर्छ । गाउँमा मन लागेको खानेवस्तु सहजरुपमा पाइदैन् । ‘मन लाएको तरकारी र माछा मासु खान सदरमुकाम पुग्नै पर्छ,’ वीनपा–१३, नम्वर वडा कार्यालयले वितरण गर्ने कुखुरा लिन आएकी गोमाकी सासु जसुदा बौडेलले भनिन्, ‘अब बुहारीलाई मासु खाने धोको पुरा हुने भयो ।’ त्यस्तै सोही स्थानकी सरिता विकको पनि ५ महिनाको छोरी छिन् । रातो भाले निःशुल्क पाएपछि उनी निकै दंग छिन् । ‘गाउँमा मासुको लागि बोइलर बाहेक पाइँदैन, त्यो स्वस्थकर हुँदैन रे,’ उनले भनिन्, ‘रातो भाले घरमा लगेपछि पहिलेदेखि दुई/चार वटा पाेंथी छन, स्याल र चिलबाट बचाउन सके अण्डा प्रसस्तै हुन्छ रे ।’ सोही स्थानकी रत्नकली रामजालीको घरमा पनि चार महिनाकी सुत्केरी बुहारी छिन् । विपन्न परिवार भएकाले हप्ता दिनमा एक पटक पनि माछा मासु सम्भव छैन । त्यसैले पनि कोखिलामा कुखुरा च्यापेर घर फर्किदै गरेकी रत्नकलीको मुहारमा फिका मुस्कान थियो । ‘रातो भाले फ्रिमा पाउँदा खुुसी नहुने त कुरै भएन,’ उनले भनिन्, ‘लोकल कुखुराको रातो भालेसँगै पोषण कोसेली सामाग्री पाएपछि सुत्केरी बुहारी स्वास्थ्य हुन्छिन रे ! ।’ वीनपा–१३, नम्वर वडा कार्यालयले सोमबार जुर्वटामा २७ जना सुत्केरी आमाहरुलाई लोकल कुखुराको भाले सहित पोषण कोसेली सामग्री वितरण गरेको छ । स्वास्थ्य चौकी जर्बुटाको आयोजना र १३ नम्वर वडा कार्यालयको सहयोगमा सुत्केरी आमालाई भालेसहित पोषण कोसेली वितरण गरिएको हो । १३ नम्बर वडाअध्यक्ष भुपेन्द्रबहादुर दर्लामीसहित जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा भालेसहित पोषण कोसेली वितरण गरिएको जुर्वटा स्वास्थ्य चौकी प्रमुख नवीन भुसालले जानकारी दिए । भाले वितरण गर्दै वीनपा–१३, नम्वर वडा अध्यक्ष दर्लामीले जर्वुटा स्वास्थ्य चौकीले महिला तथा विपन्न समुदायका लागि खेलेको भुमिका अत्यन्तै महत्पूर्ण भएको बताए । ‘स्वास्थ्यप्रतिको जागरुकताले धेरै महिला दिदी बहिनीहरुको खानपान र आनिबानीमा समेत परिवर्तन आएको छ,’ उनले भने, ‘वीरेन्द्रनगर नगरपालिका, जर्वुटा स्वास्थ्य चौकी र वडा कार्यालयको समन्वयमा धेरै काम गर्नुपर्ने छ ।’


एक सय भाले वितरण गर्ने लक्ष्य
जुर्वटाका गर्भवतीदेखि सुत्केरी अवस्थासम्मका अति विपन्न आमाहरुलाई झण्डै एक सय भाले वितरण गरिँदैछ । जर्वुटा स्वास्थ्य चौकीले वीनपा–१३, नम्वर वडा कार्यालयको सहयोगमा चालु आर्थिक वर्षमा एक सय बढी भालेसहित पोषण कोसेली वितरण गर्ने योजना बनाएको हो । स्वास्थ्य चौकीले वडा कार्यालयले निर्धारण गरेका अति विपन्न घर परिवारलाई भाले वितरण गरिरहेको छ । साविकको जर्वुटा गाविसका कम्तीमा एक सय जना आमाहरुले भालेसहित पोषण सामाग्री पाउने स्वास्थ्य चौकी प्रमुख भुसालले जनाए । अहिलेसम्म पहिलो चरणमा २७ जना सुत्केरी आमाहरुलाई भाले वितरण गरिएको छ ।


पौष्टिक आहार बढाउने उद्देश्य
जुर्वटा स्वास्थ्य चौकी प्रमुख नवीन भुसालका अनुसार जनप्रतिनिधि निर्वाचित भइसकेपछि निरन्तर रुपमा गर्भवती तथा सुत्केरी आमाहरुका लागि पोषणसम्बन्धी बजेट विनियोजन भईरहेको छ । ‘शुरुका वर्षमा सत्केरी आमाहरुका लागि एक हजार नगदै वितरण गरिएको थियो,’ उनले भने, ‘गत वर्षदेखि गर्भवती तथा सुत्केरी गरी ७६ जना भन्दा बढीलाई एक हजार बराबरको पोषण कोसेली समेत वितरण गरिएको थियो ।’ उनले चालु आर्थिक वर्षदेखि पोषण कोसेलीसँगै थप एउटा लोकल कुखुराको भाले वितरण शुरु गरिएको जनाए । उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म स्वास्थ्य चौकी जर्बुटाबाट २७ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । ‘स्वास्थ्य संस्थामा आएर सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात खर्च वापत दुई हजार, ४ पटक जाँच गराए वापत ८ सय एवं कर्णाली प्रदेश सरकारको तर्फबाट पोषण कोसेली स्वरुप दुई हजार रुपैयाँसहित १३ नम्वर वडा कार्यालयबाट थप एउटा लोकल कुखुराको भाले निशुल्क वितरण गर्दे आएका छौं,’ उनले भने, ‘गेडागुडी, आयो नुन, तेल तथा अन्य पोषिला आहारहरु कोसेली स्वरुप जर्वुटा स्वास्थ्य चौकीबाट वितरण भईरहेको छ ।’ उनले १३ नम्बर वडा कार्यालयको सहयोगमा स्वास्थ्य चौकी जर्बुटाले गर्भवती तथा सुत्केरी आमासँगै ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई समेत उच्च रक्तचाप, चिनीरोग, मिर्गौला रोग, तथा दीर्घ रोगहरुको खोज पड्ताल तथा जाँच गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । गर्भवती भएदेखि बच्चा २ वर्षको हुँदासम्मलाई सुनौला हजार दिन भनिन्छ । यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकोले पनि यो समयमा पौष्टिकयुक्त खानाको निकै आवश्यकता पर्छ । ‘गेडागुडी, मासु, अण्डामा शरीर निर्माण हुने तत्व पाइन्छ,’ उनले भने, ‘गर्भवती हुँदा आमाले खानुपर्ने र बच्चा छ महिनाको भएपछि स्वयमलाई नै खुवाउनुपर्छ ।’


वडाको रातो भाले उपहार
वीनपा–१३, नम्वर वडा कार्यालयले स्वास्थ्य संस्था मार्फत गर्भवती तथा सुत्केरीलाई रातो भाले उपलब्ध गराउने नीति लिएको छ । गर्भवती भएपछि नियमित स्वास्थ्य चेक जाँच गरिसकेपछि पोषण सामाग्री समेत उपलब्ध गराउने गरिएको वडा कार्यालयले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरुपमा सुत्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण सामाग्रीसहित सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याईएको वडा अध्यक्ष भुपेन्द्रबहादुर दर्लामीले बताए । ‘स्वास्थ्य संस्थामा नियमितरुपमा गर्भ परीक्षण नगर्दा प्रसूतिको बेला आमा, बच्चाको ज्यानसमेत जाने जोखिम हुन्छ’, अध्यक्ष दर्लामीले भने, ‘गर्भवती, सुत्केरी हुने बेलाको संवेदनशीलताबारे सबैलाई जानकारीसहित जिम्मेवार बनाउन सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याईएको हो ।’ स्वास्थ्य स्वयंसेविका वा आफैं गर्भवती महिलाले गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा पुग्नासाथ गर्भवतीको रेकर्ड राख्ने गर्दछ । सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत सुत्केरीलाई सचेतना प्रदान गर्न सुत्केरीलाई रातो भाले कार्यक्रम लागू गरिएको छ’, उनले भने, ‘यदि शाकाहारी भएको र मासु नखाने सुत्केरीका लागि रातो भालेको साटो घ्यूको समेत व्यवस्था गरिनेछ ।’ सुत्केरीलाई भेट्न वडा कार्यालय घरमै रातो भाले लिएर जाँदा स्थानीय सरकार दैलोमा रहेको महसुस समेत हुने वडा कार्यालयको अपेक्षा छ ।

प्रकाशित मिति : २०७७ पुस २७ गते सोमबार
Translate »