सुर्खेतका नौ वटै स्थानीय तहमा आयुर्वेद तथा जडिबुटी अभिमुखिकरण अभियान

कोरोना कहरपछि आयुर्वेदिकतर्फ आकर्षण

डिलबहादुर खत्री/शान्ति सुनार
पुस २८, सुर्खेत । कोरोना कहरपछि सुर्खेतलगायत आसपासका क्षेत्रमा आयुर्वेद औषधि तथा जडिबुटीतर्फ सर्वसाधारणको आकर्षण बढेको छ । कर्णाली प्रदेश सरकारले नागरिकको मागलाई मध्यनजर गर्दे आयुर्वेद तथा जडिबुटी सम्बन्धि अभिमुखिकरण कार्यक्रम नै सञ्चालन गर्दे आईरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जिल्लाका नौ वटै स्थानीय तह चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चिङ्गाड गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेर मंगलबार लेकवेसी नगरपालिका र गुर्भाकोट नगरपालिकामा एवं बुधबार भेरीगंगा नगरपालिकासँगै सिम्ता गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद तथा जडिबुटी सम्बन्धि अभिमुखिकरण गरिने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका आयुर्वेद शाखा प्रमुख पुष्पा आचार्यले जानकारी दिईन् । उनले रोगप्रतिरोधात्मक क्षमता बढाउँदै आत्मबल अभिवृद्धि गर्न आयुर्वेदको महत्व, आयुर्वेद चिकित्सा पद्धती र जडिबुटीको पहिचान, उपयोगितिा तथा प्रयोग गर्ने विधिलगायतका बारेमा महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण गरिएको बताईन् । यता जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले कर्णाली प्रदेश सरकारले विभिन्न चिकित्सा पद्धतीलाई एकीकृतरुपमा अगाडि बढाएकाले जनस्वास्थ्य कार्यालय मार्फत आयुर्वेद प्रवद्र्धन तर्फ जडिबुटीको महत्वका बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको जनाए । उनले सामाजिक विकास मन्त्रालयबाट आयुर्वेद तथा जडिबुटी सम्बन्धि अभिमुखिकरण कार्यक्रमका लागि जनस्वास्थ्य कार्यालयलाई हालसम्म पाँच लाख रुपैयाँ प्राप्त भएको बताए । उनका अनुसार आयुर्वेद तथा जडिबुटीको उपयोगिता, उपभोग विधि, पहिचानलगायतका बारेमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत आमा समूहहुँदै आम जनसमुदायसम्म सचेतना फैलाउने उद्देश्य रहेको छ । आयुर्वेद तथा जडिबुटी सम्बन्धि अभिमुखिकरण अभियानमा प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजाल, जिल्ला जनस्वास्थ्य प्रमुख वाग्ले, औलो रोग फोकल पर्सन उदय विसी, स्वास्थ्य सेवा निर्देशनालयका आयुर्वेद शाखा प्रमुख आचार्य, जिल्ला जनस्वास्थ्यका ल्यावटेक्निसियन दयाराम पंगालीलगायतको सहभागिता रहेको छ ।


आयुर्वेद तर्फ आकर्षण बढ्दै
कर्णालीमा कोरोना कहरपछि आयुर्वेद औषधितर्फ थप आकर्षण बढेको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँदै आत्मबल अभिवृद्धि गर्न भन्दै आयुर्वेदिक जडीबुटी खुवाउने गरिएपछि आयुर्वेदको महत्व थप बढ्दै गएको हो । चिकित्सकको सल्लाह अनुसार संक्रमणबाट जोगिन यहाँका धेरै नागरिकले आयुर्वेदिक औषधि र जडीबुटीको प्रयोग गर्दे आएका छन् । आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपनि सस्तोमा उपचार हुने भएकाले यसतर्फ सेवाग्राहीको आकर्षण बढेको आयुर्वेदका जानकार बताउँछन् । प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष विनोद ढकालले जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले सर्वसाधारणको आयुर्वेदतर्फ आकर्षण बढेकोे बताए । उनका अनुसार औषधालयबाट दैनिक एक सय बढीले आयुर्वेदिक औषधि लिने गरेका गरेका छन् । औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले कोरोना भाइरसबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो, तुल्सीलगायत जडीबुटीबाट बनेका अमृतचियालगायत औषधिको उपभोग बढ्दै गईरहेको जनाए । उनले औषधालयबाट रोग प्रतिरोधात्मक क्षमता बढाउन मात्र हालसम्म करिब ६ हजार बढी नागरिकले गुर्जोको प्रयोग गरेको बताए । उनका अनुसार प्रदेशमै पर्याप्त जडिबुटीको भण्डारण रहेपनि संकलन तथा प्रशोधन अभावमा तुलनात्मकरुपले धेरै महँगो मूल्यमा बाहिरबाट औषधि ल्याउनु पर्ने बाध्यता रहेको छ ।

Translate »