जुम्लाका ४७ हजार बढी नागरिकले स्वास्थ्य बिमा गराए

सागर परियार / पुस २८, जुम्ला ।
स्वास्थ्य बिमाबाट प्रभावकारी सेवा नपाएको गुनासाहरू आएपनि स्वास्थ्य बिमितको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको करिब तीन वर्षमा यहाँका ४७ हजार ८ सय ८२ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । २०६८ को जनगणना अनुसार जुम्लामा २० हजार घरधुरी सहित १ लाख २० हजार जनसङ्ख्या रहेको छ । कूल जनसङ्ख्यामध्ये ४७ हजार ८ सय ८२ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य बिमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए। उनले भने,“ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रम अन्तर्गत १ हजार ९ सय ७८ जनाले किमा गराएका छन् । महिला स्वयंसेविका १ सय ८० जना, पूर्ण अपाङ्गता भएका २६ र एचआइभी संक्रमित १ जनाले निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।”

सामाजिक सुरक्षा भत्ता वितरणका लागि कर्णालीका ६० वर्षमाथि उमेर भएका व्यक्तिलाई ज्येष्ठ नागरिकको मान्यता दिइएको छ । तर स्वास्थ्य बिमा ऐन २०७४ ले भने, ७० वर्षमाथिका व्यक्तिलाई मात्रै ज्येष्ठ नागरिकको मान्यता दिएको छ । जसका कारण ६० वर्ष नाघिसकेका सयौँ ज्येष्ठ नागरिकहरु बिमाको पहुँचमा पुगेका छैनन् । यसमा सामाजिक सुरक्षा र स्वास्थ्य बिमा बोर्डको ऐन आपसमा बाझिँदा ज्येष्ठ नागरिक बिमा सेवाबाट वञ्चित भएको ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले बताए । उनले भने,“कर्णालीमा स्वास्थ्य बिमाका लागि पनि ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको मान्यता दिनुपर्छ । बिमा ऐनलाई ज्येष्ठ नागरिकमुखी बनाउन आवश्यक छ । अन्यथा आश्रित ज्येष्ठ नागरिक मर्कामा पर्ने छन् ।” स्वास्थ्य बिमितहरुले सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट मात्रै सेवा पाउने गरेका छन् । तर ग्रामीण भेगका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य बिमा सेवा प्रवाह गर्ने अस्पताल घरदेखि टाढा दूरीमा रहेकाले आउजाउमा समस्या देखिएको स्थानीयको गुनासो छ ।

Translate »