योग र आयुर्वेदको महत्व बढ्दै
स्काई न्यूज /माघ १, सुर्खेत ।
छैठौं राष्ट्रिय योग दिवस सुर्खेतमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । ‘योग गरौं डटेर, कोभिड जान्छ हटेर’ प्रमुख नाराका साथ छैटौं राष्ट्रिय योग दिवस–२०७७ विहीबार सुर्खेतको वीरेन्द्रनगरमा विविध कार्यक्रम गरि मनाइएको हो । मानिसको जीवन शैलीलाई व्यवस्थापन गर्न महत्वपूर्ण योग नियमित गर्नुपर्ने योगगुरुहरु बताउँछन् । योगले मानिसलाई निरोग मात्र नभई दीर्घजीवी पनि बनाउने योगगुरुको भनाइ छ । सम्पूर्ण ब्रह्माण्डको ऊर्जा पृथ्वीतिर केन्द्रित भएका समयमा योग गर्न सकेमा मानिसको जीवन पद्धतिमा परिवर्तन आउने र यसका माध्यमबाट धेरै कुरामा सुधार आउने बताइएको छ ।
प्रभातफेरि पछि बिहीबार प्रदेश आयुर्वेद औषधालयको आयोजनामा आयोजित उक्त कार्यक्रममा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीका जडिबुटीबाटै प्रदेशको समृद्धिको आधार तय गर्न सकिने बताए । उनले जडीबुटीको उचित संकलन, प्रशोधन तथा बजारीकरण गर्न सके नागरिकको जीवनस्तर माथि उठ्नुका साथै प्रदेशको आर्थिक समृद्धि हुने बताए । योग, ध्यान तथा आयुर्वेदका लागि कर्णाली प्रदेश उपयुक्त रहेको र नियमित योगाभ्यास गर्ने बानी सबैमा विकास हुनुपर्ने उनको भनाइ थियो । ‘प्रदेशका यार्सागुम्बा, शिलाजित, लेकतितो जस्ता प्रमुख जडीबुटीलाई योगसँग जोडेर आर्थिक समृद्धिको फड्को मार्न सकिन्छ,’ उनले भने, ‘योग र ध्यानका माध्यमबाट शरीर स्वस्थ राखी रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित योगाभ्यास आवश्यक छ ।’ उनले योग र आयुर्वेद आपसमा जोडिएकाले योग नियमित बनाउन सके व्यस्त जीवनलाई सहज एवं सरल बनाउन सकिनेमा जोड दिए ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन योगको महत्व बढ्दै गएको बताए । उनले छैठौं राष्ट्रिय योग दिवसका अवसरमा मानसिक रुपमा स्वस्थ रहनाका लागि योग असाधारण रुपमा उपयोगी भएको जनाए । योगको प्रभाव जनस्तरमा बढाउन सके ठूलो मद्दत पुग्ने उनको विश्वास थियो । प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले कर्णाली योग भूमि भएकोले सबैका लागि गर्वको विषय भएको उल्लेख गर्दे योग कुनै धर्म विशेष तथा आध्यातमसँग सम्बन्धित नरहेकाले योगलाई धर्मसँग जोडेर संकुचन गर्न नहुने बताए । उनले योग दर्शनहरुको सृष्टि र प्रारम्भ हो भन्दै योगको सम्बन्ध मानव जीवन र प्रकृतिसँग रहेकोे समेत स्पष्ट पारे । कोरोना जस्ता महामारीमा समेत रोगहरुसँग लड्न योग महत्वपूर्ण हुने गरेको उनको भनाइ थियो । प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले छैठौं राष्ट्रिय योग दिवसका अवसरमा योगाभ्यास तथा प्रवचन लगायतका कार्यक्रम गरी योग दिवस मनाएको जनाए । उनले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको संक्रमण सामना गर्न सहज हुने बताए ।