डिम्याट खाताको संख्या २५ लाख नाघ्यो

एक सातामै १ लाखभन्दा बढीले वृद्धि

माघ ३, काठमाडौं ।
डिम्याट खाताको संख्या २५ लाख ३४५ पुगेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार माघ २ गतेसम्म उक्त संख्यामा डिम्याट खाता खोलिएको हो । पछिल्लो समय डिम्याट खाताको संख्या सातामा १ लाखले बढेको छ । पुस २१ गतेसम्म २३ लाख ७५ हजार ४०८ रहेको यो संख्या एक सातामै १ लाख २४ हजार ९३७ ले बढेको हो । धितोपत्र कारोबारमा अनिवार्य बनेको डिम्याट खाता विशेष गरी प्राथमिक बजारका लागि खुलेको पाईन्छ । धितोपत्र दोस्रो बजारमा ४ लाखभन्दा बढी मात्र लगानीकर्ता सहभागी रहेकोमा प्राथमिक बजारमा करीब १३ लाख लगानीकर्ता सहभागी भएको तथ्याङ्क छ । पछिल्लो समय चन्द्रागिरी हिल्सको आईपीओमा करीब १३ लाख लगानीकर्ताहरुले आवेदन दिएका थिए । भाग्य चिट्ठाको भरमा आईपीओ पर्ने अहिलेको प्राथमिक बजारमा सबैको भाग पुग्ने गरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ विक्री खुला गरेको छ ।

उक्त कम्पनीको आईपीओमा यस अघिको रकर्डलाई पनि ब्रेक गर्नेगरी आवेदन पर्ने अनुमान विक्री प्रबन्धकले गरेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आवेदकहरुको सुविधाका लागि शनिवार पनि कार्यालय खुला गरेर डिम्याट खोल्ने र मेरोशेयर नविकरण गर्ने कार्यलाई निरन्तरता दिएको छ । नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओकै कारण पनि पछिल्लो समय डिम्याटको संख्यामा उल्लेख्य वृद्धि भएको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बताएको छ । पहिलो दिनमै करीब ३ लाख आवेदकले आवेदन दिएको नेपाल इन्फ्राको आईपीओमा १३ लाखभन्दा बढीको आवेदन पर्ने अनुमान छ ।  प्रविधिमैत्री बनिसकेको प्राथमिक बजारमा हाल आवेदन दिन निकैनै सहज भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पनि १३ लाख आवेदनलाई सहजै स्वीकार गर्ने गरी मेरोशेयर सफ्टवेयरलाई थप प्रभावकारी बनाईसकेको छ । केहि समयअघि ३ लाख आवेदन पनि सहज तरिकाले स्वीकार नगरेको सिडिएससीको मेरोशेयर सफ्टवेयरको क्षमता पछिल्लो समय प्रभावकारी सावित भएको छ । आम लगानीकर्ताको सहजताका लागि सिडिएससीले मेरोशेयर मोवाइल एपसमेत सञ्चालनमा ल्याएको छ ।

Translate »