भलिबल प्रशिक्षक स्वर्गीय पहाडीका परिवारजनलाई आर्थिक सहयोग
स्काई न्यूज /माघ ५, सुर्खेत ।
कर्णाली प्रदेशका भलिबल प्रशिक्षक स्वर्गीय अम्मर पहाडी उर्फ शिखर पहाडीका परिवारजनलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला भलिबल संघ सुर्खेतको समन्वय तथा सहयोगमा स्वर्गीय पहाडीको पैत्तिक घर पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९, भालुखोलामा सोमबार १ लाख १० हजार २ सय ४५ रुपैयाँ नगद सहयोग गरिएको हो । अत्यन्त निम्न आर्थिक अवस्थाबाट गुज्रिरहेका कर्णाली प्रदेश भलिबल प्रशिक्षक स्वर्गीय पहाडीको काजक्रियासँगै परिवारजनलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको राष्ट्रिय खेलाडी तथा नेपाल भलिबल संघका केन्द्रीय सदस्य मंगल श्रेष्ठले जानकारी दिए ।
उनले स्वर्गीय पहाडीले सुर्खेतलगायत कर्णाली प्रदेशमा भलिबलको उत्थान तथा विकासका लागि पु¥याएको योगदान अतुलनिय रहेको बताए । उनका अनुसार पूर्व माओवादी लडाकु समेत रहेका स्वर्गीय पहाडीको अभाव कर्णालीको भलिबल क्षेत्रमा खट्कि रहने छ । स्वर्गीय पहाडीले हाल सुर्खेत सदरमुकाममा बसेर जिल्लाका भलिबल खेलाडीलाई प्रशिक्षण दिनुका साथै विभिन्न प्रतियोगितामा रेफ्रीको भूमिका निभाउँदै आएको श्रेष्ठले जानकारी दिए । गत पुस २५ गते साँझ पहाडीको एक्कासी असायिक निधनको खबर कर्णालीको खेल क्षेत्र स्तब्ध रहेको उनले जनाए । उनका अनुसार केही दिन पहिलेपनि स्वर्गीय पहाडीका परिवारजनलाई चामल, तेल, दाल चिनीलगायतका खाद्य सामाग्री समेत सहयोग गरिएको थियो । पहाडीको मृत्युको कारण बारे अझै अनुसन्धान जारी रहेकाले स्पष्ट भई नसकेको उनको भनाइ छ ।