चौकुनेका मोतिबिन्दु बिरामीको निःशुल्क उपचार

नागरिकको स्वास्थ्य सेवामा जुट्यो गाउँपालिका


स्काई न्यूज /माघ १०, सुर्खेत ।
सुर्खेतको चौकुने गाउँपालिका नागरिकको स्वास्थ्य सेवामा जुटेको छ । विकास निर्माणसँगै सामाजिक सुरक्षाको महत्वलाई ध्यानमा राखेर गाउँपालिकाले पहिलो चरणमा नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाले सुर्खेत आँखा अस्पतालको समन्वयमा पालिका १० वटै वडाका ९ सय ५३ जनाको आँखा जाँच गरेको थियो । ती मध्ये १ सय ४६ जनामा मोतिबिन्दुका विरामी फेला परेको पालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेले जानकारी दिए । उनले पहिलो चरणमा शनिबार चौकुने गाउँपालिकाका २२ जनाको सफल अप्रेशन गरिएको जनाए ।

‘मोतिबिन्दु भएका सबै विरामीलाई आँखा अस्पतालसम्म जान, आउन, औषधि खर्च, ल्याब खर्च र अप्रेशन शुल्क गाउँपालिकाले नै उपलब्ध गराएको छ,’ उनले भने, ‘कर्णाली प्रदेशमै पहिलो पटक चौकुने गाउँपालिकाले सुर्खेत आँखा अस्पतालको संयुक्त पहलमा बिरामीको निःशुल्क सेवाको थालनि गरेको हो ।’ उनले चौकुनेका १ सय ४६ जना मोतिबिन्दु बिरामी मध्ये ९१ जना महिला र ५५ जना पुरुष रहेको जनाए । उनका अनुसार थप मोतिबिन्दुका विरामीको आइतबारदेखि प्रति समूह २२ जनाका दरले उपचार गरिनेछ । उपचारमा आँखा अस्पतालका विशेषज्ञ डाक्टर शक्ति सुवेदीको टीमसहित अस्पताल व्यवस्थाक घनबहादुर थापाको समूहले चौकुनेका बिरामीको सफलता पूर्वक सेवा प्रवाह गरिरहेको पाण्डेले जानकारी दिए ।

Translate »