जिल्ला फुटबल संघको भवन उद्घाटन

स्काई न्यूज / माघ १७,सुर्खेत ।
सुर्खेत जिल्ला फुटबल संघको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले शुक्रबार वीरेन्द्रनगरमा रिवन काटेर भवनको उद्घाटन गरेकी छिन् । उनले ८ लाख रुपैयाँको लागतमा निर्मित भवन उद्घाटन गर्दै वीनपा शुरुदेखि नै खेल जगतको विकास लागि निरन्तर प्रयासरत रहेको बताईन् । ‘खेलको विकासका लागि वीनपा अहिले संरचना निर्माणमा विशेष ध्यान दिईरहेको छ,’ उनले भनिन्, ‘पदक जित्नकै लागि खेलाडीलाई सक्रिय बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छन् ।’ उनले खेल क्षेत्रलाई कैरियरकै रुपमा विकास गरि देश, विदेशमा नाम चिनाउने खेलाडी उत्पादन तर्फ सबैको ध्यान जान जरुरी रहेको औल्याईन् । उद्घाटन कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष जनकबहादुर रावलले कर्णालीका सबै जिल्लामा खेलको वर्गीकरण गरेर खेलाडी छनोट गर्नु पर्नेमा जोड दिए । फागुनमा मेयरकप र उपमेयर कप हुने जानकारी दिँदै अध्यक्ष रावलले वीरेन्द्रनगर नगरपालिकाका सबै वडाका खेलाडीले भाग लिन आग्रह गरे । अब कर्णालीमै ठूला खेलहरु सञ्चालन गर्ने वातावरण तीनै तहका सरकारले सिर्जना गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

 

Translate »