भारतमा करीब ५० लाखले लगाए कोभिड–१९ विरुद्धको खोप

माघ २३, नयाँदिल्ली (भारत) ।
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म करीब ५० लाख व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जानकारी दिइएको छ । यहाँ कोरोना भाइरस संक्रमितको संख्या बिहीवारसम्म एक करोड आठ लाख २ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ४०८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड आठ लाख २ हजार ५९१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रवार जानकारी दिएको छ । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १२० जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार ८२३ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीवार १५८ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र सात जनाको मृत्यु भएको छ । भारतमा कोभिड १९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ८७१ को मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीवारसम्म देशभर १९ करोड ९९ लाख ३१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधवार एकै दिनमा मात्र सात लाख १५ हजार ७७६ व्यक्तिलाई कोभिड १९ परीक्षण गरेको शुक्रवार जानकारी दिइएको छ ।

Translate »