कर्णालीबाट ६ महिनामा ९० करोड राजश्व असुली


अनिता विक/ माघ २८, सुर्खेत ।
पछिल्लो समय कर्णाली प्रदेशबाट उत्साहजनक राजश्व संकलन हुन थालेको छ । कोरोनाको प्रभाव कम भएसँगै विस्तारै आर्थिक क्रियाकलाप चलायमान हुन थालेपछि आन्तरिक राजश्व असुलीमा बृद्धि भएको हो । आन्तरिक राजश्व कार्यालय सुर्खेतले पछिल्लो ६ महिनामा ९० करोड ६६ हजार ७ हजार रुपैयाँ राजस्व असुली गरेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख खडानन्द खत्रीले कोरोना महामारीका बाबजुद आन्तरिक राजश्व विभागले दिएको लक्ष्य भन्दा २८ करोड ३७ लाख ६ हजार रुपैयाँ बढी राजस्व असुली भएको जानकारी दिए । उनले कार्यालयलाई पछिल्लो ६ महिनामा विभागबाट ६२ करोड २९ लाख १ हजार लक्ष्य पाएकोमा १४५ दशमलव ५५ प्रतिशत अर्थात ९० करोड ६६ लाख ७ हजार रुपैयाँ असुली गरेको बताए । उनका अनुसार कार्यालयले पछिल्लो ६ महिनामा आयकर तर्फ ५३ करोड ८८ लाख ८९ हजार, घर बहाल कर ३ करोड १ लाख ६० हजार, व्याज कर २ करोड ३२ लाख ७७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ २९ करोड ५४ लाख ९७ हजार, अन्तःशुल्कतर्फ १ करोड ८७ लाख ८३ हजार रुपैयाँ राजश्व असुली गरेको छ । उनले गत आर्थिक वर्षमा कर्णाली प्रदेशबाट विभिन्न शीर्षकमा १ अर्ब ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ राजश्व असुली भएको जनाए । उनका अनुसार गत आवमा राजश्व संकलनमा ७९ दशमलव ८० प्रतिशतले प्रगति भएको थियो ।

Translate »