चौकुनेका एक सय १३ जना विपन्न नागरिकको निःशुल्क मोतिविन्दु शल्यक्रिया

स्काई न्यूज /फागुन २, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका विपन्न नागरिकको निःशुल्क मोतिविन्दु शल्यक्रिया गरिएको छ । चौकुने गाउँपालिका र सुर्खेत आँखा अस्पतालको समन्वयमा आइतबारसम्म एक सय १३ जना विपन्न नागरिकको आँखाको शल्यक्रिया गरिएको हो । वषौंदेखि पैंसाको अभावमा आँखा उपचार गर्न नसकेर अन्धकारमा रोमलिरहेका चौकुनेका विपन्न नागरिकलाई गाउँपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखाको शल्यक्रियापछि सबै जना आँखा देख्ने भएका छन् । चौकुने गाउँपालिका र सुर्खेत आँखा अस्पतालकै समन्वयमा चौकुनेका विभिन्न गाउँहरुमा पुगेर ९ सय ६९ जनाको आँखा परीक्षण तथा उपचार गरिएको अस्पतालका वरिष्ठ नेत्र अधिकृत प्रेम दीक्षितले जानकारी दिए । उनले शिविर मार्फत आँखा परीक्षण तथा उपचारपछि १ सय ४६ जनाको तत्काल मोतिविन्दु गर्नुपर्ने पहिचान भएको जनाए । ‘ती १ सय ४६ जना मध्ये पनि १ सय १३ जनाको मोतिविन्दु शैल्याक्रिया गरिएका थियौं,’ उनले भने, ‘गाउँपालिकामा आयोजित आँखा उपचार शिविरमा आएका १ सय ४ जना विपन्न नागरिकलाई सहुलियत शुल्क नजिकबाट लेखपढ गर्न सकिने चश्मा वितरण गरिएका छौं ।’


उनले यसअघि अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाका स्वास्थ्यकर्मीलाई समेत दुई दिने प्राथमिक आँखा उपचार तालिम दिईएको जनाए । उनका अनुसार तालिममा चौकुनेका १० वटा स्वास्थ्य संस्थाहरुको सहभागिता रहेको थियो । ‘अस्पतालका प्रमुख विशेषज्ञ डाक्टर शक्ति सुवेदीको टोलीले चार चरण गरेर चौकुनेका १ सय १३ जना विपन्न नागरिकको शल्यक्रिया गरिएको हो,’ अस्पतालका व्यवस्थापक घनबहादुर थापाले भने, ‘प्रतिव्यक्ति यातायातसहित कुल शुल्क ६ हजार मध्ये सुर्खेत आँखा अस्पतालले तीन हजार रुपैयाँ व्यहोरेको छ ।’ उनले उपचारमा अस्पतालका विशेषज्ञ डाक्टर सुवेदीको टीमले चौकुनेका सबै बिरामीको सफलता पूर्वक सेवा प्रवाह गरिएको जनाए । ‘मोतिबिन्दु भएकासबै विरामीलाई आँखा अस्पतालसम्म आउन–जान औषधि खर्च, ल्याब खर्च र शल्य क्रियाको आधा शुल्क गाउँपालिकाले व्यहोरेको हो,’ चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेले भने, उनले भने, ‘कर्णाली प्रदेशमै पहिलो पटक चौकुने गाउँपालिकाले सुर्खेत आँखा अस्पतालको संयुक्त पहलमा बिरामीको निःशुल्क सेवाको थालनि गरेको हो ।’ उनले चौकुनेका १ सय ४६ जना मोतिबिन्दु बिरामी मध्ये ९१ जना महिला र ५५ जना पुरुष रहेको जनाए । उनका अनुसार थप मोतिबिन्दुका विरामीको गाउँपालिकाका स्वास्थ्यकर्मी खोजी गरिरहेका छन् ।

 

Translate »