यातायात कार्यालयकै हाकिम लाईसेन्सको ट्रायल परीक्षामा फेल

सवारी चालक अनुमतिपत्रको (ट्रायल) प्रयोगात्मक परीक्षामा कार्यालयकै हाकिम, प्राविधिक, कर्णाली प्रदेश उपसभामुख, प्रहरी निरीक्षक र पत्रकार समेत फेल भएका छन् ।

स्काई न्यूज /फागुन ३, सुर्खेत ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी (ट्रायल) प्रयोगात्मक परीक्षामा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ । कतिपय अवस्थामा बिचौलियामार्फत लाइसेन्स लिँदा नक्कलीसमेत पर्ने गरेको भेटिने गरेको छ । यस्तै विकृति रोक्न भनेर सरकारले पछिल्लो समय सवारी चालक अनुमतिपत्र लिन मापदण्ड नै परिवर्तन गरेसँगै बिचौलिया चलखेल कम हुँदै गएको आभास सुर्खेतबाट हुन थालेको छ ।


यातायात व्यवस्था कार्यालय सुर्खेतले सोमवार वीरेन्द्रनगरमा लिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल (प्रयोगात्मक) परीक्षामा कार्यालयकै हाकिम, प्राविधिक, कर्णाली प्रदेश उपसभामुख र वरिष्ठ पत्रकारसमेत फेल भएका छन् । यातायात कार्यालयले लिएको प्रयोगात्मक परीक्षाको (वर्ग ‘वी’) (कार, जीप) चार चक्के गाडीको ट्रायलमा कार्यालयकै हाकिम आनन्द चपाई फेल भएका हुन् । फेल हुनेमा कार्यालयकै प्राविधिक अम्बिाका खत्री चौथो पटकमा समेत (ट्रायल) प्रयोगात्मक परीक्षामा असफल भएकी छिन् । उनी सोमबार आफ्नै कार्यालयले लिएको सवारी चालक अनुमति पत्र (वर्ग ‘के’) स्कुटरको (ट्रायल) प्रयोगात्मक परीक्षामा चौथो पटक फेल भएकी हुन् । ट्रायल परीक्षामा कर्णाली प्रदेश उपसभामुख पुष्पा घर्ती (विष्ट), जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीलगायत समेत सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा फेल भएका छन् ।


कार्यालयले सोमबार लिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को (ट्रायल) प्रयोगात्मक परीक्षामा कुल २ सय १ जना परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ५४ जना सफल भएका छन् भने १ सय २५ जना परीक्षार्थी असफल भएका छन् । परीक्षामा २२ जना परीक्षार्थी अनुपस्थित भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सवारी चालक अनुमतिपत्रको (‘वर्ग ‘ए’) मोटरसाइकलका लागि ८२ जना परीक्षार्थी सहभागी भएका मध्ये २७ जना पास भएका छन भने ५० जना फेल हुनुका साथै ५ जना अनुपस्थित भएका छन् । त्यस्तै (‘वर्ग ‘वी’) कार, जीपको परीक्षामा ४१ जना सहभागि भएका मध्ये १० जना पास भएका छन भने २२ फेल र ९ जना अनुपस्थित रहेका थिए । यस्तै (वर्ग ‘सी’) टेम्पु (अटो) तर्फको परीक्षामा सहभागी २५ जना मध्ये ७ जना पास भएका छन् भने १८ जना फेल भएका छन् । यसैगरी (वर्ग ‘के’) स्कुटरतर्फको परीक्षामा सहभागी ५३ जना मध्ये १० जना पास भएका छन् भने ३५ जना फेला हुनुका साथै ८ जना अनुपस्थित रहेको कार्यालयको भनाइ छ ।

 

Translate »