फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने

फागुन ५,काठमाडौँ ।
सरकारले फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ६० वा सोभन्दा बढी उमेरका नागरिकहरूलाई यही २३ गतेदेखि देशभरका खोप केन्द्रबाट खोप लगाइने जानकारी दिए । कोरोना सङ्क्रमण कारण मृत्यु भएका व्यक्तिहरूको तथ्याङ्क समयमै नराख्ने तथा रिपोटिङ नगर्ने अस्पतालहरूलाई कारबाही तथा सचेत गराउने निर्णय भएको प्रवक्ता प्रा.डा. गौतमले बताए । यस्तै, नेपालमा हालसम्म २ लाख ६३ हजार ४ सय ८६ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

माघ १४ गतेबाट सुरु भएको खोप अभियानमा ८४ प्रतिशत लक्षित व्यक्तिहरूले खोप लगाएकोमा हालसम्म कुनै गम्भीर स्वास्थ्य समस्या देखा नपरेको समेत मन्त्रालयको भनाई छ । यसैबीच, आज देशभर १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर ३ हजार ८ सय ३८ वटा नमुनाको परीक्षण गर्दा ७७ पुरुष र ४८ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७३ हजार ७० पुगेको छ । आज कोरोना भाइरसको सङ्क्रमणबाट ९१ जना निको भएका छन् । योसँगै हालसम्म निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको छ । देशभरका १ हजार ६ सय २१ सक्रिय सङ्क्रमित मध्ये ६१ जनाको आइसियु र १३ जनाको भेण्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

Translate »