मध्यपहाडी राजमार्गले गति लियो

फागुन १३,दैलेख ।
मध्यपहाडी राजमार्गअन्तर्गत लामो समयदेखि रोकिएको सदरमुकाम छिचोल्ने सडक निर्माण कार्यको विवाद सुल्झिएसँंगै निर्माणकार्यले गति लिएको छ । वर्षौंदेखि विवादित दैलेख सदरमुकाम खण्डमा विवाद साम्य भएसँगै सडक निर्माणको कामले गति लिएको हो । सदरमुकामको पूर्वपट्टी छात्रावास क्षेत्रदेखि पश्चिमपट्टी जाहरकोट गाउँसम्म जोड्ने करिब डेढ किलोमिटर सडक खण्डमा स्थानीयको अवरोधले निर्माणकार्य सुरु हुन सकेको थिएन । आर्थिक वर्ष ०६४/६५ देखि वैकल्पिक मार्गका रूपमा निर्माण थालिएको राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग स्थानीयवासीको अवरोधका कारण दैलेख सदरमुकामबाट जोड्न सकिएको थिएन । विवाद समाधान भएयता मध्यपहाडी राजमार्गअन्तर्गत दैलेख सदरमुकाम खण्डमा काम धमाधम भइरहेको निर्माण कम्पनीले जनाएको छ । दैलेख सदरमुकामको डिभिजन वन कार्यालदेखि वडलम्जीको चगत्रासम्मको काम धमाधम भइरहेको कम्पनीले जनाएको छ । दैलेख सदरमुकामको डिभिजन वन कार्यालयदेखि छामघाट खोलासम्म ७ किलोमिटर र छामघाट खोलादेखि चगत्रासम्म ११.५ किलोमिटर गरी १७.५ किलोमिटर सडकको काम भइरहेको निर्माण कम्पनी एमएस कन्काई मोतिदान जेभीले जनाएको छ । २०७७ असार २९ गते ठेक्का सम्झौता भई २०७९ असार २९ सम्म सम्पन्न गर्ने गरी काम भइरहेको निर्माण कम्पनीका साइट इन्चार्ज यामबहादुर थापाले जानकारी दिए ।

सदरमुकामको वन कार्यालयनजिक वाल लगाउने, बाटो चौडा बनाउने लगायतको काम भइरहेको साइट इन्चार्ज थापाले बताए । साँघुरो सडक त्यसैमा वर्षायाममा हिलाम्मे हुँदा यात्रुले सास्ती खेप्दै आएको उक्त सडक खण्डको वन कार्यालयनजिक भइरहेको काम सोचेभन्दा पनि राम्रो भएको स्थानीय टोपबहादुर खड्काले बताए । राजमार्ग निर्माणका लागि हालसम्म संरचना निर्माणमा ६० प्रतिशत, सडक विस्तार तथा चौडा गर्ने काम ८० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका इन्जिनियर सुदर्शन थापाले जानकारी दिए । कम्पनीका इन्जिनियर थापाका अनुसार कम्पनीले काम सुरुवात गरेयता समग्रमा हालसम्म ३० प्रतिशतभन्दा बढी काम सम्पन्न गरिसकेको छ । यस्तै ठेकेदार कम्पनीका सञ्चालक अनुज खड्काले मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले भुक्तानीमा केही ढिलाइ गरे पनि काम नरोकिएको र धमाधम भइरहेको बताएका छन् । “काम गर्ने क्रममा स–साना समस्या आइरहन्छन्,” उनले भने, “हामीले ती समस्यालाई समाधान गर्दै निर्माणको काम नरोकी तीव्रताका साथ अघि बढाएका छौँ ।”निर्माण कम्पनीले दैलेख सदरमुकामदेखि छामघाट खोलासम्म ७ किलोमिटरमा भ्याटसहित ४५ करोडभन्दा बढी र छामघाट खोलादेखि चगत्रासम्म ११।५ किलोमिटरमा भ्याटसहित २७ करोडभन्दा बढी रकममा ठेक्का लिएको हो । पूर्वको पाँचथरबाट पहाडै–पहाड डडेल्धुरा पुग्ने १७ सय किलोमिटरको मध्यपहाडी राजमार्गअन्तर्गत दैलेखमा मात्रै एक सय १० किलो मिटर पर्दछ । (कारोबार)

 

Translate »