नाग्मा–गमगढी सडक स्तरोन्नतिका लागि बजेट अभाव

फागुन १४,जुम्ला ।
बजेट अभावमा कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक स्तरोन्नतिको काम प्रभावित भएको छ । संघीय सरकारले सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा ९ करोड ७० लाख विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माण रोकिएको हो । बजेट सकिएपछि संघीय सरकारले दोस्रो चरणमा ५ करोड छुट्याए पनि पर्याप्त नभएको सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख लीला भण्डारीले बताए । लागत अनुमानअनुसार काम भएको छैन,’ भण्डारीले भने, ‘बजेट सकिएपछि ग्राभेल र ढल निकासको काम अधुरै छ ।’ बजेट अभावले ठेकेदारलाई १२ करोड भुक्तानी गर्न समस्या भएको उनको भनाइ छ । सो सडकखण्डको ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणका लागि २० करोड आवश्यक रहेको सडक डिभिजन कार्यालय जुम्लाले बताएको छ । चालू आवमा गमगढी–नाग्मा सडकको ३४ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ । बजेट अभावले ५९ किलोमिटर ग्राभेल गर्न बाँकी रहेको प्रमुख भण्डारीले बताए ।

मुगुको गमगढीबाट कालिकोटको नाग्मासम्मको सडक स्तरोन्नतिको कामको जिम्मा हिम्दुङ र थोकेर, हीरा र नमिता खड्का, कृष्ण र गाल्वा बानियाँ तथा शंकर निर्माण सेवाले लिएका छन् । चालू आवभित्रै सडक ग्राभेल गर्ने लक्ष्य भए पनि बजेट अभावमा समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले बताएको छ । चालू आवमा सडकको १० ठाउँमा आरसीसी पुल निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्न लागिएको छ । सडक डिभिजन कार्यालयका अनुसार नाग्मा–गमगढी हुँदै तिब्बतको नाक्चेनाङ्लासम्मको सडकमा पुल निर्माण गर्न लागिएको हो । यसका लागि ८० करोड आवश्यक पर्ने डिभिजन प्रमुख भण्डारीले बताए । सो सडक कालोपत्र गर्न संघीय सरकारसँग ३ अर्ब बजेट माग गरिएको छ । सडकमा यातायातका साधन चल्न शुरू भएको नाग्मा–गमगढी सडक ९ वर्षपछि सरकारले स्तरोन्नतिको काम शुरू गरेको थियो । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा स्थानीयवासी र रारा आउने पर्यटकले लामो समयदेखि सास्ती भोगिरहेको स्थानीयवासी पदम महतले बताए ।

Translate »