राकम अस्पतालका लागि २८ रोपनी जग्गा दान

फागुन १५,दैलेख ।
दैलेख आठबीस नगरपालिका–३ कुमालखाँडावासीले १०० शय्याको अस्पतालका लागि २८ रोपनी जग्गा दान गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र नगरपालिकाको संयुक्त रूपमा व्यवस्थापन हुने १०० शय्याको अस्पतालका लागि कुमालखाँडावासी १८ जना स्थानीय बासिन्दाले २८ रोपनी जग्गा दान गरेका हुन् । ट्रमा सेवासहितको अस्पतालका लागि ४० रोपनी क्षेत्रको जग्गा आवश्यक भएकोमा २८ रोपनी निःशुल्क प्राप्त भई बाँकी जग्गा लिन थोरै कागजी प्रक्रिया नमिलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक धर्मराज गोसार्ईंले जानकारी दिए । ‘प्रतिष्ठान र नगरपालिकाको पहलमा यही फागुन १० गते जग्गा दान गर्नेहरूबाट अस्पतालका नाममा जग्गा पारित भएको छ,’ निर्देशक गोसाईंले भने, ‘प्रतिष्ठानले एकजना मेडिकल अधिकृत पठाएर हाल स्वास्थ्य सेवा पनि दिइरहेको छ ।’

जुम्ला प्रतिष्ठानले अस्पताल निर्माण गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने ध्येयले राकम कर्णालीमा यो कार्य थालेको उनले बताए । निर्देशक गोसाईंका अनुसार राकम कर्णालीमा अस्पताल निर्माण गर्न डीपीआर तयारीका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चालू आवमा रू। १ करोडभन्दा बढी बजेट विनियोजन गरिसकेको छ । अस्पताल निर्माणका लागि नगरपालिका र प्रतिष्ठानबीच विसं २०७६ फागुन १० गते सम्झौता भएको थियो । राकम अछाम, कालीकोट र दैलेखको ट्रान्जिट भएकाले यहाँ प्राप्त हुने सेवाको लाभ तीन जिल्लाका पाउने सो नगरपालिकाका गगन कार्कीले बताए । कार्कीका अनुसार अस्पतालका लागि अब १३ रोपनी जग्गा एक जना व्यक्तिले निःशुल्क दिने कागज गरिसकेको छन् । तर, उक्त जग्गा नापी जाँदा छूट भई सम्बद्ध व्यक्तिको नाम नआएकाले तत्काल उनको नाममा ल्याएर अस्पतालको नाममा पास हुनेछ ।

Translate »