सुर्खेतमा कोभिड विरुद्धको खोप अभियान तीव्र


स्काई न्यूज /फागुन २०, सुर्खेत ।
कोभिड–१९, विरुद्धको खोप अभियानलाई सुर्खेतमा तीव्र पारिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले माघ १४ गतेदेखि हालसम्म कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ ७ हजार ४ सय ७५ जनालाई लगाईएको बताएको छ । कार्यालयले विहीबार आयोजना गरेको पत्रकार छलफल कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले जिल्लामा हालसम्म ७ हजार चार सय ७५ जनालाई खोपको डोज लगाई सकिएको बताए । उनले दोस्रो डोज बैसाख पहिलो सातादेखि १५ गतेसम्म लगाईने जानकारी दिए । उनका अनुसार फागुन २३ गते देखि ६५ वर्ष भन्दा माथिका सर्वसाधारणलाई पहिलो चरणको खोप लगाइने छ । ‘पहिले छुटेका र ६५ वर्ष भन्दा माथिका नागरिकलाई फागुन २३ गतेबाट खोप लगाउन शुरु गर्दैछौं,’ उनले भने, ‘सुर्खेतमा अब २४ हजार ९ सय ७६ जना जेष्ठ नागरिकलाई कोरोना खोप दिने लक्ष्य राखेका छौं ।’ उनले खोप अभियानलाई सफल बनाउन २ सय ५६ जना स्वास्थ्यकर्मी, ६०० जना भन्दा बढी स्वंयसेवक र चार वटा चिकित्सक टोली खटाउने बताए । उनका अनुसार सरोकारवाललाई खोप अभियानको बारेमा जानकारी गराउँदै आफ्नो क्षेत्रबाट सहयोगको लागि अनुरोध गरिएको छ । दोस्रो चरणमा ६५ वर्षभन्दा माथिका कुल जनसंख्याको ४ दशमलव४ प्रतिशतमा र लक्षित गरिएका मध्येमा छुटेलाई पनि खोप लगाईन कार्यक्रम रहेको छ । कोरानाकै कारण सुर्खेत जिल्लामा हालसम्म २२ जना र बाहिर रेफर गरिएका ३ जनाको मृत्यु भईसकेको छ ।

Translate »