नेपालमा आजदेखि हिंसात्मक द्वन्द्व अन्त्य भएको प्रधानमन्त्रीको घोषणा

‘आजको कामको ठूलो उपलब्धी भनेको हिंसात्मक गतिविधि छैन, शान्ति छ भन्ने हो’

फागुन २१,काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजदेखि हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग शुक्रबार काठमाडौंमा तीन बुँदे सम्झौता भएपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए । ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन,’ उनको भनाइ थियो, ‘आजको कामको ठूलो उपलब्धी भनेको नेपालमा हिंसात्मक गतिविधि छैन, शान्ति छ भन्ने हो ।’ नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई सफल बनाउन शान्तिपूर्ण वातावरण चाहिने प्रधानमन्त्रीको भनाइ छ । ‘शान्ति, निर्भय र शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नेपाली जनताको चाहना पूरा भएको छ,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ ले शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने ऐतिहासिक कदम चालेकोमा बधाई र शुभकामना व्यक्त गरे । ‘उनले एउटा कदमबाट नेपाली जनताको मन जितेको छन् ।,’ प्रधानमन्त्रीले भने, ‘यो उनको साहसिक कदम हो । जो सुकैले कार्यकर्तालाई कार्यदिशा मोडेर गर्न यति साहसिक निर्णय लिन सक्दैनन् ।’ प्रधानमन्त्रीले विप्लवले आफ्नो कार्यदिशालाई सहज अवतरण गरेको टिप्पणी गरे । ‘यो फोर्स ल्यान्डिङ र क्र्यास ल्यान्डिङ होइन,’ उनको भनाइ थियो, ‘सेफ ल्याडिङ हो ।’ विप्लवसँग ८ वर्षअगाडिदेखि सम्बन्ध रहेको स्मरण गर्दै प्रधानमन्त्रीले तीन बुँदे सहमति रातारात नभएको जानकारी दिए । ‘रातारात होइन,’ प्रधानमन्त्रीले भने, ‘वर्षौंदेखिको प्रयासबाट सम्भव भएको हो ।’ तीन बुँदे सहमतिप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै कुनै समस्या आए वार्ताबाट समस्या समाधान गर्ने उल्लेख गरे ।

Translate »