आफ्नो पक्षमा बहुमत सांसद् रहेको नेकपा ओली समूहको दावी

ओलीपक्षको संसदीय दलको बैठक

काठमाडौँ । नेकपा ओली समूहको संसदीय दलको बैठक शनिबार बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको दावी गरिएको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दावी गरे । उनले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दावी गरेका हुन् ।  उनले भोलि केही थप सांसद् पनि ओली पक्षमा उपस्थित हुने बताएका छन् ।  बैठकमा प्रधानमन्त्रीले १ सय १५ सांसद संख्या पुगेको र भोलि २० भन्दा बढी संख्या आफ्नो पक्षमा हुने बताएको भट्टराईको भनाइ छ ।  प्रचण्ड नेपाल पक्षमा पनि १ सय १५ जना सांसद छन् नि भनेर पत्रकारहरुको प्रश्नमा भट्टराईले भने, ‘उहाँहरुले कसरी  १ सय १५ पुर्‍याउनु भयो थाहा छैन, तर हामीलाई संख्यामा कुनै चिन्ता छैन। हामी बहुमतमा छौँ  ।’  उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपनि पास नहुने र कसैले त्यस्तो हिम्मत गर्छ जस्तो आफूलाई नलागेको दावी गरे । (रातोपाटी)

Translate »