चौकुने सिमेन्ट उद्योगका लागि पूर्वाधार नबन्दै जग्गा खरिद प्रक्रिया शुरु

मुक्तिश्रीले समेत उन्मुक्ति दिन सकेन्’


पार्वती बयक / राजु केसी 
फागुन २२, सुर्खेत ।चर्चामा मात्र सीमित रहेको सुर्खेतको चौकुने सिमेन्ट कारखानाका लागि जग्गा खरिद प्रक्रिया शुरु भएको छ । कारखाना सञ्चालनका लागि लाईसेन्स पाएको मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले सडक, विद्युत, सुरक्षा जस्ता पूर्वाधार तयार नै नगरि जग्गा खरिद प्रक्रिया अगाडि बढाएको हो । कारखाना खोल्ने भन्दै १३ वर्षदेखि लाईसेन्स होल्ड गर्दे आएको मुक्तिश्रीले एक्कासी जग्गा खरिद प्रक्रिया अगाडि बढाएपछि स्थानीय बासिन्दामा ससंकित भएका छन् । इजाजत अनुमतिपत्र पाएको करिब एक दशक भन्दा बढी समय बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु हुन सकेको छैन । सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले आर्थिक वर्ष २०६५÷०६६ मा मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले इजाजत लिएको थियो । अहिले विभिन्न समस्या देखाउँदै उद्योग सञ्चालन तर्फ बेवास्ता गर्दे आएको उद्योगले जग्गा खरिद प्रक्रिया अघि बढाएपछि तत्काल उद्योग नबन्ने आशंका बढेको स्थानीयको बासिन्दाको भनाइ छ । लाईसेन्स नविकरणका लागि मात्र उद्योगले चौकुने क्षेत्रमा कौडीको भाउमा जग्गा खरिद प्रक्रिया अघि बढाएको स्थानीय बताउँछन् । गुटुका स्थानीय काशीराम देवकोटाले लाईसेन्स ‘होल्ड’ गरिरहेको कम्पनीले केही स्थानीयलाई प्रलोभन दिएर कौडीको भाउमा जग्गा खरिद प्रक्रिया शुरु गरिरहेको बताए । उनले जग्गा र लाईसेन्स दुबै आफ्नो पोल्टामा पारेर फेरीपनि लाईसेन्स नविकरणका लागि उद्योग सञ्चालकले आफु अनुकुल योजना अघि बढाएको आशंका गरे । कारखाना सञ्चालनका लागि कम्तीमा १५ विगाह जग्गा खरीद गर्नु पर्नेछ । चौकुने सिमेन्ट उद्योग सरोकार समितिका अध्यक्ष रामलाल बयकले उद्योग सञ्चालन हुने निश्चित भए स्थानीय बासिन्दा जग्गा दिन तयार भएको बताए । उनले भने, ‘तीन दशक बित्यो, तर, उद्योग शुरु भएन ।’ उनले उद्योग बन्ने कुरामा अब विश्वस्त हुने अवस्था नहेको बताए । ‘उद्योग सञ्चालन हुने निश्चित नभएरै पहिले नै जग्गा विक्री गर्न सकिदैन्,’ उनले भने, ‘अब त स्थानीय नागरिकको माग अनुसार जग्गाको मूल्य दिन तयार नभए जग्गा विक्री गर्दैनौं ।’ उनले जग्गाको मूल्य निर्धारण नै नगरि एक÷दुई जनालाई प्रलोभनमा पार्देमा केही फरक नपर्ने बताए । उनका अनुसार उद्योगले जग्गा खरिदका लागि वार्ता र छलफल नै नगरि चुनढुंगा खानीलाई मागी खाने भाँडो मात्रै बनाएको छ । स्थानीय बासिन्दाले चलनचल्तीकै भाउमा जग्गा खरिद गर्नुपर्ने, उद्योगमा आफूहरुले रोजगारी पाउनुपर्ने, आफ्नो पनि शेयर हुनुपर्ने, जीवन बीमा गर्नुपर्नेलगायत माग राख्दै आएका छन् । तर यसको ‘ग्यारेन्टी’ गर्न आफूहरुले अहिले नै नसक्ने कम्पनीका प्रतिनिधि लोकबहादुर अधिकारी बताउँछन् । उनले भने, ‘उद्योग खोल्दा हामीलाई अनगिन्ती चुनौती व्यहोर्नुपर्ने हुन्छ । क्षमताअनुसार जनशक्तिलाई रोजगारी दिन सकिएला । तर सबैको ग्यारेन्टी अहिले गर्न सकिन्न ।’ उनले उद्योगको कार्यालय सञ्चालनका लागि चौकुनेमा ३ रोपनी जग्गा खरिद गरिसकिएको जनाए । सिमेन्ट कारखाना सञ्चालनका लागि चौकुने गाउँपालिकाकै सुनाकाँडामा करिब ४ सय रोपनी जग्गा खरिदको अन्तिम तयारी रहेको उनको भनाइ छ । ‘भौतिकरुपमा सबैले देखिने गरि उद्योगले केही काम नगरेपनि आन्तरिक कार्य सञ्चालन भईरहेका छन्,’ उनले भने, ‘सरकार र स्थानीयवासीले काम गरेनन् भन्ने आरोप लागेकाले चालु आर्थिक वर्षमा प्लान्ट राख्न जग्गा अधिकरणको काम सम्पन्न गर्दैछौंं ।’ यहीं वर्ष प्लान्टको काम र कारखानाको सामग्री खरिद गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ ।


सरकार नै बढी दोषी
नेपालकै सबै भन्दा ठूलो दावी गरिएकोे बहुचर्चित चौकुने सिमेन्ट उद्योगको काम अघि नबढ्नुमा सरकार नै दोषी देखिएको छ । सरकारले उद्योगसम्म जाने आवश्यक भौतिक पूर्वाधार पुरा गर्न नसक्दा उद्योगको मुक्तिश्रीले समेत स्थानीय बासिन्दालाई उन्मुक्ति दिन नसकेको हो । उद्योग सञ्चालनका लागि आवश्यक सडक, बत्ती र सुरक्षाको व्यवस्था पुरा गर्ने जिम्माको सम्झौता सरकारले उद्योग सञ्चालकसँग गरेको थियो । तर, आफैले गरेको सम्झौंता सरकारले पुरा गर्न नसक्दा सिमेन्ट उद्योग सञ्चालनमा आउन नसकेको हो । सरकारले सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्री प्रालिसँग चार वर्षमा काम शुरु गर्ने गरी २०६६ साल बैशाखमा लाइसेन्स दिएको थियो । उद्योग सञ्चालनको जिम्मा पाएको मुक्तिश्री प्रालिले भने सडक, बत्ती नभईकन उद्योग सञ्चालन गर्न नसकिने जनाएपछि उद्योग नबन्ने पक्का भएको हो । सिमेन्ट कारखाना सञ्चालन गर्न करिब १४ मेगावाट विद्युत् आवश्यक पर्नेछ । उद्योग स्थापनाका लागि आवश्यक पर्ने सडक, विद्युतको विकास हुनुपर्दछ । तर उक्त क्षेत्रको सडक अझैपनि कच्ची नै छ भने विद्युत पनि पुग्न सकेको छैन । उद्योग निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीले गुटुमा साइनबोर्डमात्रै राखेका छ । कम्पनीले सिमेन्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ ल्याउन भारतको टिकुनीयाँबाट छोटो सडक आवश्यक परेको बताउँदै आएको छ । सरकारले कैलाली, बाँके, रत्न राजमार्ग हुँदै चौकुनेसम्मको सडकको स्तरोन्नति भएको खण्डमा पनि उद्योग सञ्चालन असम्भव भएको तर्क कम्पनीले गर्दै आएको छ । लामो यात्रामा ढुवानी खर्च महँगो पर्ने भएकाले यी सडकहरुबाट कच्चा पदार्थ ढुवानी गर्न नसकिने उसको अडान छ । सरकारले कैलालीको चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याक नबनाउँदा थप समस्या भएको हो । यद्यपि अहिले कुइने, घाटगाउँ र भेरी नदी हुँदै आउने सडकमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढाईएको छ । उत्पादित सिमेन्ट बिक्रीका लागि पनि सडक मजबुत हुनुपर्ने पक्षमा कम्पनी रहेको छ । उद्योगका लागि सडक निर्माणजस्तै जटिल बनेको छ । विद्युत प्रसारण लाइन विस्तारको काम पनि सरकारले वर्षौंदेखि यो क्षेत्रमा विद्युत पु¥याउन सकेको छैन । त्यो उद्योग स्थापनामा बिलम्ब हुनुको गतिलो बहाना बनेको छ । खानी विभागले २०३५ सालदेखि २०३९ सालसम्म चौकुने र बड्डिचौरसंगैको लखरपाटामा ड्रिलिङ गरी ढुंगा परीक्षण गरेको थियो । करिव ३०० फिट गहिराईसम्म ड्रिलिङ्ग गरी ढुंगा परीक्षण गरिएको थियो भने ७ वटा पिलरसमेत निर्माण गरिएका छन् । करिब ९ अर्ब रुपैयाँको लागत लाग्ने अनुमान गरिएको सिमेन्ट उद्योग सञ्चालन भएमा दैनिक २ हजार मेट्रिकटन सिमेन्ट उत्पादन हुने, धेरैले रोजगारी पाउन सक्ने बताइन्छ । सिमेन्ट उद्योगको क्षेत्रफल ४ वर्ग किलोमिटर भएपनि हाललाई करिब ४ सय रोपनी जग्गाबाट उद्योग सञ्चालनमा ल्याउन सकिने उद्योगको लाईसेन्स लिएको मुक्तिश्री प्रालिको भनाइ छ ।

Translate »