रागेचौरमा नागरिक आरोग्य सेवा केन्द्र

आयुर्वेद विस्तारमा जुट्यो संघीय सरकार


स्काई न्यूज फागुन २४, सुर्खेत ।
सल्यान कुमाख गाउँपालिकाको रागेचौरमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । प्रदेश आयुर्वेद औषधालय सुर्खेत, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सल्यान र कुमाख गाउँपालिकाको समन्वयमा नेपाल सरकारले रागेचौरमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सेवा केन्द्रको सोमबार गाउँपालिका अध्यक्ष दिलमाया बुढा गिरी र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाका डाक्टर लक्ष्मीनारायण तिवारीले केन्द्रको संयुक्त रुपमा उद्घाटन गरेसँगै रागेचौरबाट विधिवत आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । दुर्गम पिछडिएको रागेचौरमा स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्र नै सल्यान जिल्लाकै पहिलो आयुर्वेद सेवा केन्द्र हो ।

‘यसअघि स्वास्थ्य सेवा केन्द्र नहुँदा यस क्षेत्रका नागरिक नागरिकलाई औषधोउपचारका लागि जिल्ला सदरमुकाम खलंगासँगै छिमेकी  रुकुम जिल्ला पुग्नु पर्ने बाध्यता रहेको थियो,’ कुमाख गाउँपालिकाका अध्यक्ष दिलमायाले भनिन्, ‘कुमाख आसपासका क्षेत्रमा पर्याप्त जडिबुटीको भण्डारण रहेपनि औषधिको पहिचान तथा ज्ञानको अभावमा नागरिकले सदुपयोग गर्न नसक्दा जडिबुटी खेर गईरहेका थिए ।’ रागेचौरमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएसँगै अब यस क्षेत्रमा खेर गईरहेका जडिबुटीको समेत सदुपयोग हुने विश्वास व्यक्त उनले गरिन् । उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा आयुर्वेद नागरिक आरोग्य सेवा सञ्चालनका लागि ८ लाख रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारको नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत रागेचौरमा आयुर्वेद सेवा केन्द्र सञ्चालनमा ल्याईएको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा.शंकरप्रसाद रिजालले जानकारी दिए ।

‘आयुर्वेदको कुनै पनि पहुँच नपुगेको कुमाख गाउँपालिकाका विभिन्न जंगलमा पर्याप्त जडीबुटी भए पनि शोध, अनुसन्धानको अभावमा त्यत्तिकै खेर गइरहेका छन्,’ उनले भने, ‘हाललाई आयुर्वेद उपचार केन्द्र स्थापना भए पनि त्यहाँका नागरिकले आयुर्वेदको महत्व, जडीबुटीको पहिचान र प्रभावका बारेमा जानकारीका साथै स्वास्थ्य लाभ लिन पाउनेछन् ।’ स्वास्थ्य केन्द्र सेवा कार्यालय सल्यानका बैद्य बालकृष्ण गिरीले आरोग्य केन्द्र सञ्चालनमा ल्याईएसँगै कुमाख क्षेत्रका नागरिकलाई आयुर्वेदक औषधिको प्रचारप्रसार तथा उपचारमा प्रयोग ठूलो सहयोग पुग्ने अपेक्षा राखे । उनले आयुर्वेद र एलोपेथिक औषधिलाई परिपूरकका रुपमा सँगसँगै लैजानुपर्नेमा समेत जोड दिए । संघीय सरकारले चालु आर्थिक वर्षमा मात्र कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा हालसम्म आधा दर्जन नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन ल्याईसकेको छ ।

Translate »